प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्यको लोगो सार्वजनिक

रासस

सोमबार, २४ बैशाख २०७५, १२ : ४३
प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्यको लोगो सार्वजनिक

बुटवलमा सोमबार पुस्तक, लोगो तथा वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा प्रदेश नं ५ को प्रदेशसभामा प्रयोग हुने लोगो सार्वजनिक गरिँदै । तस्वीरः रासस

बुटवल l प्रदेश नं ५ का प्रदेशसभासद्को पहिचान गराउने प्रदेश चिह्न (लोगो) आज सार्वजनिक गरिएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले यहाँ आयोजित कार्यक्रममा सो लोगो सार्वजनिक गर्नुभएको हो ।

उक्त लोगो बनाउन २०७४ फागुन २४ गते सार्वजनिक सञ्चारमाध्यममार्फत नमूना आह्वान गरिएकामा १२ जनाले सहभागिता जनाएका थिए । सहभागीमध्ये दाङका खगेश्वर भण्डारीले तयार पार्नुभएको नमूना छनोटमा परेको हो । लोगोमा प्रदेश नं ५ को हिमाली क्षेत्र सिस्ने हिमाल, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, धान र जौका बालाका साथै लैङ्गिक समानता झल्किन्छ ।
प्रदेशसभा सचिवालयले आयोजना गरेको सो कार्यक्रममा सो लोगोसहित प्रदेशसभा कर्मचारीको लोगो, प्रदेशसभा नियमावली तथा प्रदेशसभा सदस्यहरुको विवरणसहितको पुस्तक, प्रदेशसभाको आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरिएको छ । त्यस अवसरमा प्रदेशसभाको लोगो निर्माणकर्ता भण्डारीलाई उपसभामुख कृष्णी चौधरीले सम्मान गर्नुभयो ।
प्रदेशसभा सञ्चालनका तथा व्यवस्थापनका लागि प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको प्रदेशसभा नियमावली २०७४ सहित प्रदेशसभाका विविध विषय समेटिएको पुस्तक लोकार्पण गरिएको थियो । सभामुख घर्तीले प्रदेशसभाको पहिचान झल्काउन लोगो महत्वपूर्ण भएको र यसले प्रदेशका महत्वपूर्ण क्षेत्रलाई झल्काउने बताउनुभयो । यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा छोटो समयमा यो महत्वपूर्ण र ऐतिहासिक काम भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस