काठमाडौं महानगरमा अब २० तला सम्म आगो निभाउने ‘बारुण यन्त्र’

पत्रपत्रिकाबाट

सोमबार, १७ माघ २०७८, ०८ : १६
काठमाडौं महानगरमा अब २० तला सम्म आगो निभाउने ‘बारुण यन्त्र’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ ।

महानगरपालिकाले महानगर क्षेत्रमा आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका तीनवटा वारुणयन्त्र खरिद गरेको हो । वारुणयन्त्रभित्र पानी र फर्मको फरक–फरक भण्डारण गर्ने क्षमता छ ।

जर्मन प्रविधिमा आधारित इन्डोनेसियामा बनेको जिङ्गर कम्पनीको वारुणयन्त्रमा तीन हजार लिटर क्षमताको पानी र एक हजार पाँच सय लिटर क्षमताको फर्म भण्डारण गर्न सकिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । ढुवानीबाहेक दुई लाख अमेरिकी डलरमा खरिद गरिएको वारुणयन्त्रले कम्तीमा ६० मिटरमाथिसम्म लागेको आगो निभाउन सक्नेछ । “वारुणयन्त्रले कम्तीमा २० तल्लासम्म लागेको आगो निभाउन सक्छ”, प्रवक्ता डङ्गोलले भने ।

यसअघि काठमाडौँ उपत्यकामा रहेका वारुणयन्त्रले आठ तलासम्म लागेको आगो मात्रै निभाउन सक्ने क्षमता थियो । हाल काठमाडौँ महानगरपालिकाअन्तर्गत चारवटा वारुणयन्त्र रहेका छन् । नयाँ वारुणयन्त्र काठमाडौँ उपत्यकामा रहेका साँघुरा सडकमा समेत जान सक्ने मोडलका रहेको दाबी गरिएको छ ।

साँघुरा सडक भएर आगो निभाउन जान समस्या भोगिरहेको कुरालाई ध्यानमा राखेर वारुणयन्त्रको मोडल रोजेको डङ्गोलले भने । उनले महानगरले ठूला र अग्ला भवन बनाउन स्वीकृति दिएसँगै त्यहाँ हुन सक्ने जोखिमलाई ध्यानमा राखेर वारुणयन्त्र खरिद गरेको बताए । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस