मोरङको उखुबारीमा भेटिएका दुवै शवको पहिचान खुल्यो, हत्याकाे कारण खुलेन

सफल खबर संवाददाता

आइतबार, १६ माघ २०७८, ११ : ४८
मोरङको उखुबारीमा भेटिएका दुवै शवको पहिचान खुल्यो, हत्याकाे कारण खुलेन

काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका- ७ स्थित उखुबारीमा फेला परेको दुई शवको पहिचान खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार माघ १३ मा खाल्डोबाट उत्खनन् गरिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको खुलेको हो ।  चौधरी यसअघि उखुबारीमै मृत फेला परेका राजेन्द्रकुमार श्रेष्ठको साथी रहेकोसमेत पुष्टि भएको छ । 

गत बुधबार उखु काट्ने क्रममा कामदारहरुले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उखुबारीमा पुगेको प्रहरीले खाल्डोबाट चौधरीको शव फेला पारेको थियो । चौधरीको शव भेटिएको स्थानबाट करिब ५० मिटरको दुरीमा रहेको अर्काे खाल्डोमा श्रेष्ठको शव बिहीबार दिउँसो गाडिएको अवस्थामा फेला परेको थियो।

श्रेष्ठको शवसँगै भेटिएको कागजातका आधारमा उनी धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएकाे  खुलेको थियो । तर, चौधरीको भने आजमात्र सनाखत भएको हो । 

३५ वर्षीय चौधरी पछिल्लो समय काठमाडौँमा बसोबास गर्दै आइरहेका थिए भने ४९ वर्षीय श्रेष्ठ भक्तपुरको लोकन्थलीमा परिवारसँग बस्थे । उनीहरु दुवै जना जग्गा कारोबारमा संलग्न भएको अनुमान गरिएको छ तर, श्रेष्ठका परिवारले भने चौधरीलाई कहिल्यै पनि सँगै हिँडेको नदेखेको प्रहरीलाई बताएका छन् ।

मङ्सिर पहिलो साता काठमाडौँबाट सँगै विराटनगर आएका उनीहरुको हत्या कहाँ भएर त्यहाँ ल्याएर पुरिएको थियो भन्नेबारे एकिन भैनसकेकाे र अनुसन्धानलाई सूक्ष्म ढंगबाट अघि बढाइएको प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस