ठूला निक्षेपकर्ताले पैसा झिकेपछि निक्षेपमा संकुचन

पत्रपत्रिकाबाट

बुधबार, १२ माघ २०७८, ०७ : ४४
ठूला निक्षेपकर्ताले पैसा झिकेपछि निक्षेपमा संकुचन

काठमाडौं । पछिल्लो ३ सातासम्म उच्च मात्रामा बढेको वाणिज्य बैंकहरूको कुल निक्षेप माघको पहिलो साता भने उच्च मात्रामा घटेको छ । माघको पहिलो साता २७ वाणिज्य बैंकको कुल निक्षेप १३ अर्ब २२ करोडले घटेको हो ।

गत पुसको तेस्रो साता १४ अर्ब, चौथो साता ५९ अर्ब र पुसको अन्तिम साता १७ अर्बले बैंकहरूको निक्षेप बढेको थियो । तर, माघको पहिलो साता भने निक्षेप उच्च मात्रामा घटेको नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकले देखाएको छ ।

पुसमा कर तिर्ने समय भएर पनि निक्षेपमा ठोस असर पुगेको थिएन । तर, माघको पहिलो सातामै ठूलो मात्रामा निक्षेप घटेपछि बैंकहरूमा तरलता व्यवस्थापनमा थप चाप पर्ने देखिएको छ ।पुस मसान्तसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब २४ अर्ब ३४ करोड निक्षेप रहेको थियो । माघको पहिलो साता अर्थात् ७ गतेसम्म आउँदा त्यो ४३ खर्ब ११ अर्ब १२ करोडमा झरेको छ ।

समीक्षा अवधि नेपाल आयाल निगम, नेपाल विद्युत् प्राधिकरणजस्ता ठूला निक्षेपकर्ताले आफ्नो खातामा भएको रकम झिकेका छन् । त्यसको असरले निक्षेप घट्न गएको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले बताए ।

आयल निगमले विभिन्न बैंकमा रहेको खाताबाट १६ अर्ब रुपैयाँ झिकेको उनको भनाइ छ । त्यसैगरी विद्युत् प्राधिकरणजस्ता अन्य संस्थाले पनि ठूलो मात्रामा रकम झिक्दा निक्षेपमा कमी आएको उनले बताए ।

सर्वसाधारण, सरकारी खर्च, अन्य संघसंस्थालगायत निक्षेपकर्ताबाट निक्षेप आउने क्रम पनि जारी नै छ । यस अवधिमा ठूला निक्षेपकर्ताले एकैपटक ठूलो रकम झिक्दा निक्षेपमा संकुचन देखिएको मात्रा हो, त्ससैले आत्तिइ हाल्नुपर्ने अवस्था नभएको उनको भनाइ छ । तर, तरलता व्यवस्थापनमा भने चुनौती नै हुने सरोकारवालाहरू बताउँछन् । आर्थिक अभियानमा खबर छ ।

प्रतिक्रिया दिनुहोस