'सरकार पूर्ण लकडाउनको पक्षमा छैन'

पत्रपत्रिकाबाट

सोमबार, ०३ माघ २०७८, ०७ : ४९
'सरकार पूर्ण लकडाउनको पक्षमा छैन'

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार पूर्ण लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। आइतबार प्रदेश १ को सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजना गरेको छलफलमा मन्त्री खतिवडाले सरकार पूर्ण लकडाउनको पक्षमा नरहेको बताएका हुन्।

उनले पूर्ण लकडाउनले केही मानिस जोगाउन सकिए पनि धेरै मानिस आर्थिक र मानसिक समस्यामा पर्ने र दीर्घकालसम्म असर देखिने भएकाले सरकारले आंशिक लकडाउन गर्ने स्पष्ट पारे। मन्त्री खतिवडाले कोरोना महामारी नियन्त्रण गर्दै विद्यालय बाहेकका सबै क्षेत्र आंशिक रुपमा स्वास्थ्य मापदण्ड अपनाएर खुल्ला राखिने जानकारी दिए। ‘सरकार पूर्ण लकडाउनको पक्षमा छैन’, उनले भने, ‘विद्यालय बाहेकका सबै क्षेत्र आंशिक रुपमा चलायमान बनाउने जसका लागि स्वास्थ सुरक्षाका मापदण्ड अपाउन कडाइ गरिनेछ।’

खतिवडाले विवाह, भोजलगायतका सामाजिक कार्यक्रममा पनि २५ जनाका दरले पालैपालो भोज खुवाउने व्यवस्था गर्न आग्रह गरे। उनले भने, ‘बरु दिनभर भोज खुवाइरहनुस्, तर, एक पटकमा २५ जनाभन्दा बढीलाई भोजमा सहभागी नगराउनुस्।’ मन्त्री खतिवडाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन प्रदेश सरकार र स्थानीय सरकारलाई निर्देशन दिए। उनले कार्ययोजना बनाएर खोपको अभियान प्रदेशभर सुरू गर्न आग्रह गरे।

कार्यक्रमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मधेसी र मुस्लीम समुदायले खोप लगाउन ध्यान नदिएको बताए। उनले अन्य समुदाय खोपप्रति सचेत देखिएको भए पनि मधेसी र मुस्लिम समुदायले खोपमा रुचि नदेखाउँदा सबै नागरिकलाई खोप लगाउने अभियानमा समस्या देखिएको बताए।

यादवले लामो लाइन नबसी सहजरुपमा खोपलगाउने व्यवस्था प्रदेशभर मिलाउनु आवश्यक रहेको धारणा राखे। प्रदेश १ का मुख्यसचिव रामप्रसाद घिमिरेले कोरोनाको तेस्रो लहरमा स्थानीय तह उदासिन हुन थालेको बताए। उनले भने, ‘पहिलो र दोस्रो लहरको कोरोना नियन्त्रणमा स्थानीय तहले जुन सक्रिएता देखाएका थिए तेस्रो लहरको कोरोना नियन्त्रणका लागि उनीहरू उदासिन बनेका छन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस