सरकारले दुधको मुल्य निर्धारण गर्दै

पत्रपत्रिकाबाट

शुक्रबार, २३ पुस २०७८, ०८ : ३८
सरकारले दुधको मुल्य निर्धारण गर्दै

काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरिसकेपछि अब दूधको मूल्य निर्धारण गर्ने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति बनाएर राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन गराएको छ ।

सो अध्ययनका आधारमा प्रतिवेदन तयार गर्ने काम भइरहेको बोर्डका प्रमुख डा. राजेन्द्र यादवले बताए । उहाँले भन्नुभयो, “हामीले आइतबारसम्म प्रतिवेदन तयार गरेर मन्त्रालयलाई बुझाइदिन्छौँ । मन्त्रालयले त्यसलाई अध्ययन गरेर दूधको मूल्य निर्धारण गर्नेछ । ”

पुस मसान्तभित्र दूधको मूल्य निर्धारण हुने चर्चा गर्दै उहाँले प्रदेशबाट अध्ययन गरेर आएका डकुमेन्टलाई अध्ययन गर्ने काम भइरहेको बताए । उनले भने, “सातवटै प्रदेशमा छुट्टाछुट्टै टोली गएर दूधको बारेमा अध्ययन गरेका छन् । ती सबैलाई एक ठाउँमा राखेर प्रतिवेदन तयार गरी बोर्डले मन्त्रालयमा बुझाउनेछ । ”

यसअघि प्रशोधित दूधको मूल्य निर्धारण हुने गरेको र त्यसका आधारमा किसानको हिस्सा छुट्याएर कच्चा दूधको मूल्य निर्धारण हुन्थ्यो । यसपालि कच्चा दूधकै मूल्य निर्धारण हुने र त्यसका आधारमा प्रशोधित दूधको अर्को मूल्य निर्धारण गर्ने अध्ययन समितिका एक सदस्यले बताए ।

दूध उत्पादनमा लगानी र खर्चको औसत हिसाब निकाल्दा हालको मूल्यमा प्रतिलिटर छ–दस रुपियाँ मूल्य वृद्धि गर्नुपर्ने बोर्डले गराएको अध्ययनले देखाएको छ । बोर्डले यसअघि एउटा संस्थाबाट गराएको अध्ययनअनुसार किसानको लगानीअनुसार हालको मूल्यमा छ रुपियाँदेखि १० रुपियाँ मूल्य वृद्धि गर्नुपर्ने सुझाव दिएको छ । हाल दूधको मूल्य प्रतिलिटर ५० रुपियाँदेखि ७० रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस