बालुवाटार जग्गा प्रकरणका मुख्य आरोपित शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध राजस्व छलीको मुद्धा दायर

सफल खबर संवाददाता

मंगलबार, २० पुस २०७८, १७ : ११
बालुवाटार जग्गा प्रकरणका मुख्य आरोपित शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध राजस्व छलीको मुद्धा दायर

काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालविरुद्ध राजस्वी छलीको मुद्दा पनि दर्ता भएको छ ।

ढकालसहित पाँच जनाविरुद्ध राजस्व अनुसन्धान विभागले १ अर्ब २० करोड, ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद दायर गरेको हो ।

उनीहरुविरुद्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ विगो र त्यति नै जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ असुल गर्न र ३ वर्ष जेल सजाय गर्न माग गरिएको छ ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा विशेष अदालतको आदेशमा ढकाल हाल थुनामा रहेका छन् ।शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, र सान्टु श्रेष्ठ सञ्चालक रहेको आनसान इन्टरनेशनल कम्पनीले मूल्य अभिवृद्धि कर, आयकर र लाभांश छली गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागले शोभाकान्त ढकालसहित उक्त कम्पनीको सबै सञ्चालक र आनसान इन्टरनेसनल प्रालिको लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध पनि राजस्व छलीको मुद्दा दायर गरेको विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

आनसान इन्टरनेसनलले ४२ करोड २६ लाख सात हजार ३५१ मूल्य अभिवृद्धि कर, ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ आयकर र नौ करोड, ७४ लाख ८४ हजार ३७६ रुपैयाँ लाभांश गरी एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छलेको विभागले आरोपपत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस