राजधानीबारे अध्ययन गर्न समिति गठन, कुन पार्टीबाट को–को ? (नामसहित)

शुक्रबार, १४ बैशाख २०७५, २० : २२
राजधानीबारे अध्ययन गर्न समिति गठन, कुन पार्टीबाट को–को ? (नामसहित)

हेटौँडा । प्रदेश नंं ३ को आज बसेको प्रदेशसभा बैठकले स्थायी राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय विशेष समिति गठन गरेको छ ।

समितिमा नेकपा एमालेबाट पाँच र नेकपा माओवादी केन्द्र बाट दुई/दुई तथा नेपाली काँग्रेस, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) नेमकिपा र साझा विवेकशीलबाट एक एक गरी १३ सदस्य रहेका छन् ।

सदस्यमा एमालेबाट दीपक निरौला, सरस्वती बस्नेत, विजय सुवेदी, वसन्त मानन्धर र डा रामकुमार अधिकारी, माओवादी केन्द्रबाट विशाल खड्का र जगत सिंखडा, कांग्रेसबाट छिरिङदोर्जे लामा, राष्ट्रिय जनशक्ति पार्टीबाट प्रभात तामाङ, विवेकशील साझा पार्टीबाट विराजभक्त श्रेष्ठ, नेमकिपाबाट सुरेन्द्रराज गोसाईं, राप्रपाबाट रीता माझी, राप्रपा (प्रजातान्त्रिक)बाट रीना गुरुङ रहेका छन् ।  

समितिले राजधानीका लागि सम्भावित ठाउँको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछ । प्रदेश ३ को राजधानीका लागि हालसम्म काभ्रेपलाञ्चोक, नुवाकोट र भक्तपुरका सांसदले माग दावी गर्दै संसद्मा निवेदन दर्ता गराएका थिए ।

यसअघि आजको बैठमा मुख्यमन्त्री डोरमणि पौडेलले पेश गरेको गाउँ नगर र जिल्ला सभा सञ्चालन गर्न बनेको विधेयक र स्थानीय निकायको निर्वाचित पदाधिकारी एवं सदस्यलाई सेवा सुविधा (पारिश्रमिक) सम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा बिहीबार र आज शुक्रबार विशेष समयमा उठको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले उद्योग, पर्यटन एवं कृषिलाई वैज्ञानिक र आधुनिकता दिन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गर्ने बताए।

उनले ३ नं प्रदेशअन्तर्गत पर्ने १३ जिल्लाका भूकम्पपीडितका घर निर्माणमा तत्कालै केन्द्र सरकारसँग समन्वय गरेर काम गरिने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले हेटौंडा–काठमाडौं जोड्ने सुरुङमार्ग निर्माणमा केन्द्रीय सरकारसँग समन्वय गर्ने एवं सुकुम्वासीलाई व्यवस्थित बसोबास गराउन दीर्घकालीन योजना तर्जुमा गरिने बताउनुभयो ।

सभामुख सानुकुमार श्रेष्ठले आजैका मितिदेखि प्रदेशसभाको बैठक अन्त्य गरिएको जानकारी दिँदै प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको सन्देश पढेर सुनाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस