प्रदेशसभा ३ : रु एक अर्बको बजेट पेश

विहीबार, १३ बैशाख २०७५, १९ : २८
प्रदेशसभा ३ : रु एक अर्बको बजेट पेश

हेटौँडा । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि रु एक अर्ब दुई करोड पाँच लाख रकम बजेट पेश गर्नुभएको छ । बजेटमा चालुतर्फ रु ५५ करोड ४८ लाख ६० हजार र पूँजीगततर्फ रु ५५ करोड ५६ लाख ४० हजार छ । बजेट पेश गर्दै मन्त्री ढुंगेलले आगामी आर्थिक वर्षको बजेटमा सुरुङमार्ग, प्रादेशिक दुग्धबोर्डको स्थापना, पूर्वाधार विकास, भूकम्पपीडितलाई राहतलगायत कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

बजेटमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य केशवराज पाण्डे, पशुपति चौलागार्इं, रिना गुरुङ, मुनु सिग्देल, प्रभात तामाङ, निमा लामा, रमेश पौडेल, विशाल खड्का र प्रेमबहादुर पुलामीले प्रदेशमा आर्थिक स्रोत पहिचान गरी आर्थिक स्रोत जुटाउनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले जलविद्युत्, कृषि, पर्यटन र औद्योगिक विकासमा बजेटले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रदेश विनियोजन विधेयक
प्रदेश संसद्को १७ औँ बैठकको आधा घण्टापछि बसेको प्रदेश संसद्को अर्को बैठकले प्रदेश विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेश सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ढुुंगेलले १५ दिन अगाडि पेश गर्नुपर्ने प्रावधान रहेको विधेयक धारा १३ को १ देखि ५ र ७ देखि १० निलम्बन गरेर संसद्मा पेश गर्नुभएको हो ।
सदस्य रिता माझी, गीता वाग्ले, छिरिङ दोर्जे लामा, रामकुमार अधिकारी, शान्ति थिङ, घनश्याम दाहाल, सुरेशराज श्रेष्ठ र रिना गुरुङले बजेट जनमुखी नभएको आरोप लगाउनुभयो । अर्को बैठक शुक्रबार अपराह्न ३ बजे बस्नेछ । (रासस)

प्रतिक्रिया दिनुहोस