ललिता निवास प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला आज, कस्तो आउला आदेश ?

सफल खबर संवाददाता

सोमबार, १५ कार्तिक २०७८, ०७ : ५९
ललिता निवास प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला आज, कस्तो आउला आदेश ?

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा परेको मुद्दाको फैसला आज गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले फैसला आज सुनाउने भएको हो। 

यस अगाडि असोज १८ गते ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथि किन मुद्दा नचलाएको भन्ने विषयमा सुनुवाइ गर्दै फैसला सुनाउने मिति कार्तिक १५ गते तोकेको थियो।

यद्यपि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग असन्तुष्ट न्यायाधीशले सर्वोच्च अदालतमा इजलास बहिष्कार गरेको एक साता भयो। जसका कारण आज फैसला सुनाउने नसुनाउनेबारे भने अन्योल देखिएको छ। प्रधानन्यायाधीश जबराको एकल इजलासबाट भने फैसला भइरहेको छ।

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्रीसहित १७५ विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। नेपाल र भट्टराई प्रधानमन्त्री हुँदाको समयमा ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी भएको थियो।

त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्बाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय आयोगको अनुसन्धानको क्षेत्राधिकारभित्र नपर्ने हुँदा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टटराईका हकमा केही गरिरहनु नपर्ने निष्कर्षमा अख्तियार पुगेको थियो। अख्तियारले उनीहरूसँग बयान भने लिएको थियो।
 

प्रतिक्रिया दिनुहोस