प्रधानन्यायाधीश राणालाई राजीनामा गर्न बारले दियो अल्टिमेटम

पत्रपत्रिकाबाट

शनिबार, १३ कार्तिक २०७८, ०७ : ४१
प्रधानन्यायाधीश राणालाई राजीनामा गर्न बारले दियो अल्टिमेटम

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा गर्न कात्तिक १७ सम्म अल्टिमेटम दिएको छ । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता र गरिमा कायम राख्न नसकेको निष्कर्षका साथ राजीनामा माग गरिएको बारले जनाएको छ ।

बार महासचिव लीलामणि पौडेलका अनुसार शुक्रबार बसेको बार कार्यसमितिको बैठकले उपत्यका बार इकाइका अध्यक्षहरूको समेत सुझावका आधारमा अल्टिमेटम दिने निर्णय गरेको हो । बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतको इजलासमा नबस्न माग गरेको छ ।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए कात्तिक १४ देखि १७ गतेसम्म हरेक दिन बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर विरोध गर्ने निर्णय पनि बारले गरेको छ । बारले सर्वोच्च अदालत प्रांगणमा कात्तिक १६ मा धर्ना दिने र विरोधसभा गर्ने भएको छ । काठमाडौं उपत्यकाका इकाइमा आबद्ध कानुन व्यवसायीहरूलाई सक्रियतापूर्वक विरोध कार्यक्रममा सहभागी हुन बारले आग्रह गरेको छ ।

नेपाल बारले न्यायपालिकाको अहिलेको अवस्थाबारे आफूले गरेका निर्णयहरू देशभरका ९० वटै इकाइहरूमा परिपत्र गर्दै तिनलाई कार्यान्वयन गर्न अनुरोधसमेत गरेको छ । ती इकाइका अध्यक्ष र सचिवहरूसँग भर्चुअल माध्यममार्फत छलफल गरी सुझाव संकलन गर्ने पनि निर्णय भएको बार उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । कात्तिक १७ सम्म पनि प्रधानन्यायाधीश जबराले राजीनामा नदिए थप विरोधका कार्यक्रम घोषणा गर्ने बारले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस