माडीलाई आत्मनिर्भर बनाउन माछापालनः मन्त्री लामा

बुधबार, १२ बैशाख २०७५, १९ : ३१
माडीलाई आत्मनिर्भर बनाउन माछापालनः मन्त्री लामा

चितवन । प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चितवनको माडीलाई आत्मनिर्भर बनाउन माछापालनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । आज (बुधवार) माडी नगरपालिका ६ को गोपालनगर माछा उत्पादक तथा वितरक सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लामाले माडीलाई माछाको जोनका रुपमा बिकास गरिने बताए । “माडीको संमृद्धी कृषी र पर्यटनबाट मात्रै सम्भव छ, मन्त्री लामाले भने,प्रदेश सरकारले माडीलाई बिशेष प्राथमिकतामा राखेको छ ।”

मन्त्री लामाले माडीको कृषि क्षेत्रको विकासका लागि स्पष्ट योजना बनाएर मन्त्रालयमा पेश गर्न माडीका अगुवासंग आग्रह गरे । उनले माडीमा उपलव्ध प्राकृतिक सा्रेत र साधनको उपयोग गर्न सके छिट्टै संमृद्धी हाँसिल गर्न सकिने बताए । गोपालनगर माछा उत्पादक तथा वितरक सहकारी संस्थाका सल्लाहाकार नरेन्द्र बहादुर खड्काले माछा पालक किसानका लागी विजुली, माटो परिक्षणका लागि ल्याव र सहज रुपमा बजारिकरणको समस्या रहेको बताए । उनले निकुन्ज हुँदै बिना रोकतोक सहज रुपमा माछा वाहिर लैजान पाउने व्यवस्था गरिदिन मन्त्री लामासंग आग्रह गरे ।

माछा उत्पादक सहकारीमा १ सय २ जना आवद्ध छन् भने करिव ३ सय जनाले रोजगार पाएका छन् । करिब १ सय १८ विगाहा क्षेत्रफलमा ४ सय ९० पोखरीमा किसानले माछा पालन गर्दै आएका छन् । किसानले २०४१ सालबाट सो स्थानमा माछापालन सुरु गरेका हुन् ।

यस्तै मन्त्री लामाले आजै माडी नगरपालिकाका जनप्रतिनिधीसंग माडिको विकासका बारेमा छलफल गरेका छन् । नगरपालिकाका हरेक योजनामा प्रदेश सरकारको साथ हुने भन्दै उनले बस्ती व्यबस्थापन र कृषिको आधुनिकिकरण गरिनुपर्ने बताए । मन्त्रालयले गरिवी निवारणको कार्यक्रम पनि माडीमा पार्ने उनले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस