मुस्ताङ पुग्यो कबड्डी टोली

सफल खबर संवाददाता

शनिबार, ०६ कार्तिक २०७८, १२ : १२
मुस्ताङ पुग्यो कबड्डी टोली

काठमाडौंँ । अभिनेता दयाहाङ राई अभिनित फिल्म ’कबड्डी’को चौथो सिरिज छायांकनको लागि फिल्म युनिट मुस्ताङ पुगेको छ । फिल्मका निर्देशक रामबाबु गुरुङ प्रोडक्सन टिमसँग ३ कात्तिकमा मुस्ताङ पुगेका थिए । 

फिल्मका कलाकारहरू पनि छायांकन स्थलमा पुगिसकेका छन् । ३५ दिनको सेड्युल लिएर छायांकनमा निस्किएको टोलीले शनिबारबाट काम सुरु गर्नेछ । ‘हामी सबै तयारी गरिरहेका छौं । सबै मिलेमा भोलिबाट छायांकन सुरु गर्नेछौँ’, निर्देशक गुरुङले भने । उनले कबड्डीदेखि नै मुस्ताङको कथालाई देखाउँदै आएका छन् । काजीको प्रेम यात्रा भनिएको कबड्डीको चौथो सिरिजलाई ‘कबड्डी ४ स् फाइनल म्याच’ भनिएको छ । 

फिल्ममा दयासँगै सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायतका कलाकारको अभिनय रहनेछ । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्मको सेड्युलअनुसार काम भएमा यसैवर्षको अन्त्यसम्ममा प्रदर्शनमा आउन सक्नेछ । 

निर्देशक गुरुङ वितरकहरूसँगको सल्लाहमा मात्र डेट घोषणा गर्ने बताउछन् । ‘छायांकन सकिएपछि बाँकी काममा लाग्ने समयको अनुमान गरेर फिल्म रिलिज घोषणा गर्ने छौँ’, निर्देशक गुरुङले भने । 

प्रतिक्रिया दिनुहोस