गुण एयरलाइन्सले पायो जेटस्ट्रीम जहाजको ‘एओसी’, सात वटा जहाजबाट नियमित उडान गर्ने तयारी

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, ०९ : ४९
गुण एयरलाइन्सले पायो जेटस्ट्रीम जहाजको ‘एओसी’, सात वटा जहाजबाट नियमित उडान गर्ने तयारी

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणबाट निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले  जेटस्ट्रीम जहाजको एयर अपरेटर्स सर्टिफिकेट (एओसी) प्राप्त गरेको छ ।

पाँच वटा जेटस्ट्रीम जहाज यति एयरलाइन्ससँग खरिद गरेको गुणले एओसी प्राप्त गरेसँगै ३० सिटको जेटस्ट्रीम जहाजद्वारा तुम्लिङटार, भरतपुर र पोखरामा पहिलो पटक आफ्नो नियमित उडान शुरु गरेको हो ।

आफ्ना दुईवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीमसहित कुल सात वटा विमानबाट उडान थाल्ने क्रममा बिचएअरक्राफ्ट १९०० द्वारा नियमित उडान भने असोज १ गतेदेखि नै उडान शुरु गरेको थियो । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाका अनुसार उडानको सुरुवातमा काठमाडौंबाट पोखरा, भरतपुर (चितवन) र तुम्लिङटारको उडान सुरु भएको हो ।

यसै सातादेखि नै अन्य गन्तव्य सिमरा, भैरहवा, जनकपुर, नेपालगन्ज, सुर्खेत र बिराटनगरको लागि उडान भर्नेगरी तयारी गरिएको थापाले बताए । नेपालीहरुको महान् चार्ड दशैंलाई लक्ष्यित गर्दै आफूहरु यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाई सेवा सुविधा दिन कुनै कसर बाँकी नराख्ने थापा बताए ।

कोभिड महामारीको बीच आफूहरु नेपाली यात्रुहरुका लागि सेवा दिन तयार रहेको र वर्तमान हवाई भाडादरको चर्को प्रतिस्पर्धामा आफुहरु पनि उत्रेर गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसारको तयारी थालेको थापाको भनाइ छ । गुण एयरलाइन्सले आन्तरिक विमानस्थलमा यात्रुहरुको लागि दुईवटा विद्युतीय बस समेत संचालन गरेको छ । 

प्रतिक्रिया दिनुहोस