विवादमा फुटसल लिग, रेफ्रीविरुद्ध क्लबको ज्ञापनपत्र

सफल खबर संवाददाता

शनिबार, ०९ असोज २०७८, १३ : ०७
विवादमा फुटसल लिग, रेफ्रीविरुद्ध क्लबको ज्ञापनपत्र

पोखरा । पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसलमा विवाद उत्पन्न भएको छ । रेफ्रीले गरेका निर्णयप्रति लिगमा सहभागी सबै टिमले असन्तुष्टि जनाएका छन् । 

पोखरामा २ असोजदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राष्ट्रिय लिग जारी छ । रेफ्रीले मनलाग्दी निर्णय गरे खेल क्षेत्र ैनै बदनामी हुने भन्दै १० वटै टिमले एन्फा फुटसल कमिटीलाई ज्ञापनपत्र बुझाएका छन् । 

क्लबका प्रशिक्षक तथा म्यानेजरहरूले रेफ्रीका सातवटा कमजोरी देखाएका छन् । कमजोर निर्णय क्षमता, घरेलु तथा दर्शकको दबाब थेग्न नसकेको, अनुभवको कमि, नियमप्रति पूर्ण जानकार नभएको लगायत आरोप लगाइएको छ ।

रेफ्रीको कमजोर निर्णय शैलीले प्रतियोगितामा नै नकारात्मक असर पर्न गएको विज्ञप्तिमा उल्लेख गरिएको छ । रेफ्रीबाट भएको कमि कमजोरी छिटो समाधान नगरिए लिगबाट बाहिरिने उनीहरूको चेतावनी छ । 

‘खेल नियममा रहेर खेल्ने हो । रेफ्रीको निर्णय हामीलाई मान्य छैन । निकै कमजोर रेफ्री राखिएको छ,’ नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष एवं ढुकु फुटसल हबका मुख्य प्रशिक्षक राज महर्जनले भने, ‘सबै रेफ्री नयाँ भएकाले परिपक्व निर्णय लिन सक्नुभएको छैन ।’  

सुरुमा पोखराबाहेक आठवटा टिमले असन्तुष्टी जनाएका थिए । अहिले पोखराका दुई टिमले पनि असन्तुष्टी जनाएपछि सबै मिलेर ज्ञापनपत्र बुझाएको उनले सुनाए । 

एन्फा फुटसल कमिटीका प्रमुख विनोद गुरुङले विवादका विषयमा छलफलबाट टुंगो लगाउने बताए । ‘आरोप लगाउने र आरोपितलाई राखेर एन्फाले छलफल गर्छ । केही कमजोरी हुन सक्छ । आगामी दिनमा सुधारेर जाने हो,’ उनले भने, ‘पहिलो लिग भएकोले केही कमजोरी सामान्य हुन्छ । गल्ती नदोहो¥याउनु महान कुरा हो ।’ समस्या समाधानका लागि अहिले छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस