९५ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०९ असोज २०७८, १२ : १४
९५ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट स्रोत नखुलेको ९५ लाख बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले  बताए ।

CG Developers Tansen Cement box

चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले सो नगद लिएर आउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका  सागर माली र कृष्ण अढाडे छन् ।

भारतको मुम्बई घर भएका उनीहरु ग १ ख ६६४५ नम्बरको हाइस माइक्रोमा चितवनबाट काठमाडौं आएका थिए । यात्रुबाहक माइक्रोको ८ र ९ नम्बर सिटमा बसेका उनीहरुको झोला चेकजाँच गर्दा सो नगद फेला परेको थियो । 

सो रकम अवैध हुन्डी कारोबारको हुनसक्ने एसएसपी अशोक सिंहले बताए । उनले भने–‘ पैसा ल्याउनेहरूले स्रोत खुलाउन सकेका छैनन्, हामी थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले २६ वर्षीय मालिको साथबाट ४५ लाख र कृष्ण अढाडेको साथबाट ५० लाख बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस