त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा आज नेपाल र अमेरिका भिड्ने

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, ११ : ५८
त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा आज नेपाल र अमेरिका भिड्ने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल जितको खोजीमा हुनेछ । पहिलो भेटमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ ।सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

पहिलो खेलमा अमेरिकालाई हराएको नेपालले दोस्रो खेलमा भने घरेलु टिम ओमानविरुद्ध ५ विकेटले नै पराजित भएको थियो । यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस