क्यारमबोर्डको सट्टा अन्य खेल सामग्री

शुक्रबार, ०७ बैशाख २०७५, १५ : ३८
क्यारमबोर्डको सट्टा अन्य खेल सामग्री

भीमदत्तनगर । गाउँमा दिनभरजसो युवाले सार्वजनिकस्थल र चोकहरुमा क्यारमबोर्ड खेलेर समय खर्चिने गरेका छन् । उक्त कार्यलाई निरुत्साहित पार्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा अन्य खेल सामग्री वितरण गरिएको छ । शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता जगतबहादुर सिंहको अग्रसरमा वडाका विभिन्न स्थानबाट करीब एक दर्जन बढी क्यारमबोर्ड प्रहरीको हटाइएको छ । दिनभर क्यारमबोर्डमा समय विताउँदैआएका युवालाई रु एक लाख बराबरको खेलकूद सामग्री हस्तान्तरण गरिएको वडाध्यक्ष सिंहले बताउनुभयो ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर, वडाध्यक्ष सिंहलगायत स्थानीय तहका पदाधिकारीले वडा नं ७ को कृष्णसार युवा क्लबमार्फत टोल टोलमा समूह बनाएर ब्याडमिन्टन, भलिबल, फुटबल, क्रिकेटलगायत खेल सामग्री हस्तान्तरण गरेका हुन् ।

‘बेरोजगार युवालाई अब उत्पादनमूलक काममा लगाउने योजना बनाइरहेका छौँ,” वडाध्यक्ष सिंहले भन्नुभयो, “युवा लक्षित कार्यक्रम सञ्चालन गरेर स्वरोजगार बनाउने काम अघि बढाएका छौँ ।” वडा कार्यालयले रु चार लाख खेलकूदका लागि विनियोजन गरेको छ । तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडीसमेत रहनुभएका वडाध्यक्ष सिंहले खेलमैदान निर्माणका लागि दातृ निकायबाट सहयोगको आश्वासन पाएको बताउनुभयो ।

“क्यारमबोर्डमा युवाको लत नै बसिसकेको थियो, खेलकूदमा अग्रसर गराउन अन्य खेल सामग्री उपलब्ध गराएका हौँ,” उहाँले भन्नुभयो । वडाध्यक्ष सिंह हाल गाउँमा सडक सञ्जाल विस्तार, मदिरा नियन्त्रण, कृषि क्षेत्रको विस्तार, पर्यटन पूर्वाधारलगायत काममा जुट्नुभएको छ । “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएको वडा भएकाले यहाँ पर्यटकीय सम्भावना धेरै छ,” उहाँले भन्नुभयो । उहाँले रु पाँच लाख खर्चेर वडाको विस्तृत अध्ययन प्रतिवेदनसमेत तयार गरिएको बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस