आइपिएल : सनराइजर्स हैदरावादलाई १५ रनले हराउदै पञ्जाब विजयी

शुक्रबार, ०७ बैशाख २०७५, ०९ : ३३
आइपिएल : सनराइजर्स हैदरावादलाई १५ रनले हराउदै पञ्जाब विजयी

किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । बिहिबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई १५ रनले हराउदै पञ्जाबले तेस्रो जित निकालेको हो ।
चन्द्रिगढस्थित आईएस बिन्द्रा स्टेडियममा घरेलु टोली पञ्जाबले दिएको १९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ४ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । हैदरावादका मनिस पाण्डयले अविजित ५७ तथा कप्तान केन विलियमसनले ५४ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै हैदरावादका शाकिब अल हसनले अविजित २४ र युसुफ पठानले १९ रन जोडे । हैदरावादलाई रोक्न पञ्जाबका एन्ड्रयु टे र मोहित शर्माले समान २ – २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले क्रिस गेलको शतकीय पारीमा पुरै २० ओभरमा ३ विकेट गुमाएर १९३ रन बनाएको थियो । पञ्जाबको उच्च स्कोरमा गेलले अविजित १०४ रन जोडे । ६३ बलमा शतक बनाउने क्रममा गेलले ११ छक्का र १ चौका प्रहार गरेका थिए । गेल जारी सिजनमा शतक बनाउने पहिलो खेलाडी समेत बने ।
यस्तै पञ्जाबको लागि करुण नायरले ३१, लोकेश राहुल र मायांक अग्रवालले समान १८ – १८ रन जोडे । त्यस्तै आरोन फिन्च १४ रनमा अविजित रहे । हैदरावादका भुवनेश्वर कुमार, राशिद खान र सिद्धार्थ काउलले समान १ – १ विकेट लिए ।
यो जितसँगै लिगको तेस्रो स्थानमा रहेको पञ्जाबले ४ खेलबाट ६ अंक जोडेको छ । पराजित हैदरावाद ४ खेलबाट ६ अंक नै जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । लिगको शीर्ष स्थानमा रहेको कोलकत्ता नाइट राइडर्सको ५ खेलबाट ६ अंक रहेको छ । समान अंक भएपनि नेट रन रेटको आधारमा कोलकत्ता र हैदरावाद पञ्जाबभन्दा माथि रहेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस