सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) ठूलो दल

रासस

सोमबार, २१ भदौ २०७८, २० : १९
सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) ठूलो दल

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा नवगठित नेकपा (एकीकृत समाजवादी)पार्टी सबैभन्दा ठूलो दल बनेको छ । चौध प्रदेशसभा सदस्यसहित यो पार्टी सबैभन्दा ठूलो दल बनेको हो ।

नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य माया तामाङ बोहराले आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर नवगठित पार्टीका पक्षमा सनाखत गराउनु भएसँगै प्रदेशसभामा यो पार्टी ठूलो दल बनेको हो । 

यसअघि नेकपा (एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य एवं भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोेशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीद्वय चुनकुमारी चौधरी र मनाकुमारी साउदले नवगठित पार्टीका पक्षमा सनाखत गराउनु भएको थियो ।

यस्तै पूर्वराज्यमन्त्री प्रकाश रावल, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वप्रमुख सचेतक तारा लामा तामाङ, पूर्वमन्त्री माया भट्ट, सुशीला बुढाथोकी, अमरबहादुर साउद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि नयाँ पार्टीमा सनाखत गराएका थिए । मन्त्री सोडारी एमाले कैलालीको र पूर्वप्रमुख सचेतक तामाङ कञ्चनपुर एमालेको अध्यक्ष थिए । 

प्रदेशसभामा अब नेकपा एमाले सभामुखबाहेक १० जनामा सीमित भएको छ ।  यसअघि प्रदेशसभामा नेकपा एमालेका २५ सदस्यसहित सबैभन्दा ठूलो दल थियो । प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना सदस्य छन् ।

प्रदेशसभामा विभिन्न दलका गरी जम्मा ५२ जना सदस्य छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री जोशी र पूर्वमन्त्री माया भट्ट समाजवादी पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस