शान्ति सुरक्षा कायम राख्न प्रदेश सरकार प्रतिबद्ध

मंगलबार, ०४ बैशाख २०७५, २१ : २९
शान्ति सुरक्षा कायम राख्न प्रदेश सरकार प्रतिबद्ध

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशमा शान्ति सुरक्षा कायम राख्न र अपराधीलाई कानूनको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यबाट विशेष समयमा उठेको जिज्ञाशाको जवाफ दिँदै उहाँले गत चैत २५ गते विराटनगर–१४मा श्रीनिवास आचार्यमाथि गोली प्रहारको घटनामा अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म पाँच जनालाई पक्राउ गरेको जानकारी गराउनुभयो । उहाँले घटनाका सम्बन्धमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट सुक्ष्म ढङ्गले अनुसन्धान भइरहेको जानकारी गराउनुभयो ।

त्यस्तै, सोमबार राति ८ः१५ बजेको समयमा विराटनगर–१३ स्थित भारतीय राजदूतावासको इकाई कार्यालयको पर्खालमाथि मास्क लगाएर आएका दुई जनाले सम्भवतः प्रेसरकुकर बम विष्फोट गराएको र त्यसबाट पर्खालमा सामान्य क्षति भएको जानकारी गराउनुभयो ।

मोरङको मिक्लाजुङमा महिला हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको र ओखलढुङ्गा र उदयपुरको घटनाको सम्बन्धमा पनि उहाँले जानकारी गराउनुभयो ।

यसअघि विशेष समयमा नेपाली काँग्रेसका सचेतक केदार कार्की, संघीय समाजवादी फोरम नेपालका जयराम यादवले दुईतिहाईको सरकार हुँदापनि प्रदेशमा अपराधिक घटना बढेको, शान्ति सुरक्षामा खलल परेको भन्दै श्री निवास आचार्यमाथि गोली प्रहार, विराटनगर–१३स्थित भारतीय राजदुतावासको इकाइ कार्यालयको पर्खालमा बम विष्फोट, उदयपुरको त्रियुगा नगरपालिकामा बम विष्फोटमा बालक घाइते भएको लगायतका घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

शुन्य समयमा उठेको जिज्ञाशाको जवाफ दिँदै सामाजिक विकासमन्त्री जीवन घिमिरेले विश्वविद्यालय बनाउने ऐन ल्याउने प्रक्रिया चाँडो शुरु गर्ने जानकारी गराउनुभयो । उहाँले पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेजका लागि कविराज थापाको अध्यक्षतामा अध्ययन टोली गठन गरेको जानकारी पनि गराउनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले गत चैत २९ गते प्रस्तुत गर्नुभएको चालु आवको बजेटको राजस्व तथा व्ययमाथिको सामान्य छलफलमा प्रदेशसभा सदस्य निलम बस्नेत, रामप्रसाद लिम्बू, इन्दिरा कार्की र विष्णु तुम्बाहाम्फेले जिज्ञासा राख्नुभयो । प्रदेशसभाको अर्को बैठक बुधबार अपराह्न १ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस