रत्ननगरको खाद्य उद्योगद्वारा नौ करोड बढीको राजस्व छली

रासस

बुधबार, २३ असार २०७८, १७ : ४९
रत्ननगरको खाद्य उद्योगद्वारा नौ करोड बढीको राजस्व छली

चितवन । चितवन रत्ननगर–८ देवौलीस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जनाको मिलेमतोमा रु नौ करोड बढीको राजस्व छली भएको खुलेको छ । 

अनुसन्धानमा करोडौँ कर छली गरेको पाइएकाले राजस्व अनुसन्धान विभागले आज उनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार कैफियत गरेर रु नौ करोड २७ लाख ३७ हजार बिगो बराबरको राजस्व छली गरेकाले जरिवाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको हो । 

विभागले सञ्चालकद्वय दिनेशकुमार र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका प्रोपाइटर रामप्रसाद थपलियाले वास्तविक खरीद तथा बिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेत राजस्व चुहावट गरेको जानकारी दिएको छ । उनीहरुले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ पहिलो संशोधन २०७६ को दफा ३ ले निषेधित गरेको तथा सोही ऐनको दफा ४ को खण्ड क, ख र छ बमोजिम कसुर गरेको विभागको दाबी छ ।

उनीहरुमाथि राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ ९पहिलो संशोधन–२०७६० को दफा २ छ १ बमोजिम मूल्य अभिवृद्धि करतर्फ रु छ करोड ८६ लाख सात हजार र आयकरतर्फ रु दुई करोड ४१ लाख ३० हजार राजस्व छली गरेको आरोप छ । 
 

प्रतिक्रिया दिनुहोस