भारतमा दैनिक संक्रमण दर घटे पनि मृतक संख्या उस्तै

एजेन्सी

शनिबार, ०८ जेठ २०७८, १० : ५५
भारतमा दैनिक संक्रमण दर घटे पनि मृतक संख्या उस्तै

काठमाडौँ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा केही कमी आए पनि मृतक संख्या भने घटेको छैन । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ५४ हजार ३९५ जनामा संक्रमण भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या २ करोड ६२ लाख ८५ हजार ८९ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९।५ प्रतिशतलाई कोरोना देखिएको छ । त्योभन्दा अघिल्लो साता त्यो दर २२।४ प्रतिशत रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो।

संक्रमितको दर घटे पनि मृत्युदर भने उस्तै नै छ । अहिले पनि दैनिक औषत चार हजार संक्रमितको मृत्यु भइरहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार १४३ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ९५  हजार ५०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस