उपप्रधानमन्त्री पोखरेलले  गरे ‘कोभिड आइसोलेशन तथा अक्सिजन थेरोपी सेन्टर’ को शुभारम्भ

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १३ : ४१
उपप्रधानमन्त्री पोखरेलले  गरे ‘कोभिड आइसोलेशन तथा अक्सिजन थेरोपी सेन्टर’ को शुभारम्भ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गरेका छन् ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले संचालन गरेको ८८ शैयाको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाभाइरसाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताए ।‘हामीले जिटूजी र बीटूबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेका छौं ।

जतिसुकै बजेट लागे पनि हामी छिटो ल्याउन प्रयत्नशील छौं,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘भारत सरकारले छिट्टै नेपाललाई लिक्वीड अक्सिजन प्लान्ट सहयोग गर्दैछ । चीन सरकारले दिएको अक्सिजन सिलिण्डर पनि छिट्टै ल्याउँछौ । निजी क्षेत्रलाई पनि प्रोत्साहित गरिरहेका छौं ।’

बिभिन्न देशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको र सहयोग आउने क्रम पनि जारी रहेको उनले बताए । कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईंको समग्र नेतृत्व गर्नुभएको उपप्रधानमन्त्री पोखरेलले बताए ।

‘अहिले फैलिरहेका बिभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न आग्रह पनि गरे । ‘अहिले जति पनि भ्रमपूर्ण कुराहरु फैलिएका छन्, त्यसमा कुनै सत्यता छैन’ उनले भने ।तत्काल ८८ शैयाको अक्सिजन थेरापी सुविधासहित सुरु भएको यो आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्न सकिने आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ ।आइशोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

आइसोलेशन केन्द्र शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल, प्रधानसेनापति पूर्णचन्द्र थापा, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस