यसवर्षको अन्त्यदेखि मात्र खोप आपूर्ति सुरु हुन्छ : सिरम

एजेन्सी

बुधबार, ०५ जेठ २०७८, १२ : ००
यसवर्षको अन्त्यदेखि मात्र खोप आपूर्ति सुरु हुन्छ : सिरम

दिल्ली । भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले सन् २०२१ को अन्त्यदेखि मात्र खोपको आपूर्ति सुरु हुनसक्ने बताएको छ ।कोभिसिल्ड खोप उत्पादन गर्दै आएको कम्पनीले विज्ञप्ती जारी गर्दै सरकारसँगको सघन छलफलपछि तत्काललाई विदेशमा खोप आपूर्ति हुन नसकेको जनाएको हो ।

सिरमका प्रमुख कार्यकारी अधिकृत आधार पुनेवालाले विज्ञप्ती जारी गर्दै तत्काललाई भारतभित्रै खोप आपूर्ति गर्नुपर्ने अवस्था रहेको जनाएका छन् । ‘यसवर्षको अन्त्यदेखि खोप आपूर्ति सुरु हुनसक्ने हाम्रो विश्वास छ’ उनले भनेका छन् ।

साथै, सिरमले सिंगो विश्वलाई खोप लगाउनको लागि अझै २ देखि ३ वर्ष लाग्ने समेत उल्लेख गरेको छ ।सिरम इन्स्टिच्युटले अस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको खोपलाई भारतीय नाम ‘कोभिसिल्ड’मा उत्पादन गर्दै आएको छ ।

नेपालले समेत सिरमले उत्पादन गरेको उक्त खोपको २० लाख डोज नेपाल ल्याइसकेको छ ।भारतबाट अझै १० लाख डोज खोप आउन बाँकी छ । सिरमले तत्काल खोप नदिँदा नेपालको खोप अभियान प्रभावित बन्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस