बिहार स्थित गंगा नदी किनारमा भेटिए दर्जनौं शव, कोरोना संक्रमित भएको आशंका

एजेन्सी

मंगलबार, २८ बैशाख २०७८, ०९ : २०
बिहार स्थित गंगा नदी किनारमा भेटिए दर्जनौं शव, कोरोना संक्रमित भएको आशंका

एजेन्सी । कोरोना संक्रमणको हटस्पट बनेको भारतमा दिनहुँ कोरोना संक्रमितको संख्या दिनप्रति बढ्दो छ । संक्रमणसँगै मृतकको संख्या पनि ह्वात्तै बढेको छ । भारतमा कोरोनाबाट मृत्यु भएकाको दाहसंस्कारमा कतै स्थान त कतै दाउराको समेत अभाव देखिन थालेको छ । यस्तै विहार राज्यको बक्सरमा सोमबार गंगा नदीमा तैरिरहेका दर्जनौं शवहरू फेला परेका छन् ।

उत्तर प्रदेशसँग सीमा जोडिएको उक्त जिल्लाको चौसा गाउँका मानिसहरूले ती शवहरू बग्दैबग्दै महादेवा घाटमा आइपुगेको बताएका छन्। ती शव कोरोना संक्रमणबाट मरेको मानिसको हुन सक्ने भन्दै उनीहरूले स्थानीय प्रशासनलाई खबर गरेका थिए । गंगा किनारमा फेला परेका ४०,४५ शव कोरोना संक्रमण भएका व्यक्तिको हुन सक्ने स्थानियबासीले आकलन गरेका छन् ।

शवहरु मध्ये आधा जलेको अवस्थामा फेला परेका छन् । कोरोना संक्रमितको अन्तिम संस्कार गर्न निकै महंगो हुने भएकाले मानिसहरूले शव नदीमा फालिदिएको हुन सक्ने स्थानीयको अनुमान छ। स्थानीयहरूले १ सय ५० जति शव नदीमा तैरिरहेको बताए पनि बक्सर जिल्लाका अधिकारीहरूले ३० वटा शवमात्रै फेला परेको बताएका छन्।

प्रशासनले ती शवबारे अनुसन्धान गर्न समिति पनि बनाएको छ। स्थानीयहरूले शव नचिनेकाले  उत्तर प्रदेशबाट ती शव आएको हुन सक्ने अधिकारीहरूको अनुमान छ। यता उत्तर प्रदेशको गाजीपुरमा पनि केही शवहरू तैरिरहेको अवस्थामा भेटिएको अधिकारीहरूले बताएका छन्। नदीमा भेटिएका शवको अन्तिम संस्कारको प्रक्रिया सुरू भइसकेको छ। स्थानियहरुले फेला परेको शव व्यवस्थापनमा स्थानिय प्रशासनले चासो नदिएको आरोप लगाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस