एमाले विवाद

ओली र माधवलाई हाइसञ्चो, दोस्रो तहका नेतालाई ज्वरो !

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, १४ : ५७
ओली र माधवलाई हाइसञ्चो, दोस्रो तहका नेतालाई ज्वरो !

काठमाडौँ । नेकपा एमालेको आन्तरिक विवाद अब फुटको संघारमा पुगिसकेको छ । यही बैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन वैशाख २७ गतेअगावै पार्टी फुट्ने वा जुट्ने भन्ने निश्चित हुने देखिन्छ । यतिबेला एमालेको आन्तरिक विवाद मिलाउन दोस्रो तहका नेताहरुको खुप दौडधुप छ ।

न रात, न दिन उनीहरु पार्टीलाई एकताबद्ध बनाउन कहिले बालुवाटार त कहिले शितल निवास धाइरहेका छन् । खानपानकै ठेगान छैन, दिनरात भनिएको छैन तर पनि दोस्रो तहका नेता पार्टीलाई एकताबद्ध बनाउन लागिरहेका छन् । तर बालुवाटारमा बालुवा पेलेर तेल निस्कने लक्षण देखिएको छैन । 

माधव नेपाल र केपी शर्मा ओली टसको मस भएका छैनन् । दुबैले एकअर्कालाई कडा आलोचना गरिरहेका छन् । लाग्छ माधव र ओलीलाई हाइसञ्चो छ, पार्टी विभाजन हुने चिन्ता त दोस्रो पुस्ताका नेतालाई पो देखिन्छ । ‘प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्षबीच आन्तरिक छलफल बाक्लिएपनि दुई समूहबीचको दुरी साँघुरो होइन, अझ बढेको छ । दुबैले आफ्नो अडान छोडेका छैनन्’ मध्यमार्गीको भूमिका खेलिरहेका एमालेका एक नेताले भने । 

दुई दिनयताका घटनाक्रम विश्लेषण गर्दा माधव र ओलीलाई हाइसञ्चो देखिए पनि दोस्रो तहका नेतालाई पार्टी मिलाउन ज्वरो आइरहेको छ । दोस्रो पुस्ताका नेताहरुबीच आन्तरिक संवाद तीव्र भएको छ । तर, यो संवादले ठोस निकास दिन सकेको छैन । केपी ओली र माधव नेपाल दुबै पक्षका नेताहरु आ–आफ्नो बटमलाइनमा देखिएका छन् । दोस्रो तहका नेता समाधानको बुँदा खोजिरहेका छन् । 

‘समय धेरै छैन, प्रधानमन्त्रीले विश्वासको मत मागेको दिन वैशाख २७ मुखमै आइसक्यो, अब पनि (माधव र ओली) नमिले पार्टी विभाजन हुने संकेत देखिन्छ’ एमालेका स्थायी कमिटी सदस्यले भने, ‘नेताहरुको सम्वाद सकारात्मक हुन सकेको छैन, ताप्की नतातेसम्म बिँड तात्दैन, यहाँ त उल्टो भयो ।’

एमालेका दोस्रो तहका नेताले पार्टीलाई मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेरसमेत कुराकानी गरे । माधव नेपालले राष्ट्रपतिलाई भेटे । भेटेर बाहिर निस्केर नेपालले भने, ‘भ्रममा नपर्नुहोस्, अहिलेसम्म कुनै सहमति भएको छैन ।’ २०७७ फागुन २८ र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरु फिर्ता लिइनुपर्छ भन्ने अडान माधव नेपाल पक्षको छ । एमालेका वरिष्ठ नेता माधव नेपाल  ०७५ जेठ २ गते अघिको कमिटी विधान र नेतृत्व नै बटमलाइन हो भन्दै आएका छन् भने ओली जेठ २ गते अघि फर्कन चाहेका छैनन्, जसका कारण दोस्रो पुस्ताका नेताहरुले दौडधुप गरेर ज्वरै निकाले पनि माधव नेपालले भनेझैँ ‘बालुवाटारमा वालुवा पेलेर तेल निस्कने छैन’, त्यस्तै भइरहेको छ । 

वैशाखको पहिलो साता होटल मेरियटमा केपी ओलीसँग दुई दिन वार्ता गरेर निस्केपछि माधव कुमार नेपालले जनकपुर पुगेर भनेका थिए, बालुवाटारको बालुवा पेलेर तेल निस्कनेवाला छैन । केपी ओली सुध्रनेवाला छैनन् । आखिरी माधव नेपाल पक्ष केपी ओलीसँग मिल्न नसिकने अवस्थामा पुगिसकेको छ भने ओली पक्ष पनि मिल्न नसकिने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा पार्टी एकताको बीउ रोप्न लागिपरेका नेताहरु हिस्स हुने अवस्था छ । 

शुक्रबार बालुवाटारमा दुई पक्षका दोस्रो तहका ६ नेताहरु वार्तामा जुटे तर कुनै सहमतिको विन्दु भेटेनन्। ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमालसँग माधव पक्षका घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले घण्टौँ कुराकानी गरे । बालुवाटारमा राति ११ बजेसम्म कुराकानी गरे, तर कुनै सहमति हुन सकेन । 

छलफलमा सहभागी भएका माधव नेपाल पक्षका नेता योगेश भट्टराईका अनुसार प्रधानमन्त्री ओली २०७५ जेठ २ अघि फर्कन चाहेनन् जसका कारण सहमतिको विन्दु भेट्न मुस्किल परेको हो । उनले भने ‘छलफलबाट कुनै निष्कर्ष निस्किएन ।’ कुनै हालतमा सहमति नभए  माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ अघि नै सामुहिक राजीनामा दिन सक्ने सम्भावना पनि यथावतै रहेको छ । ओली पक्षका नेताहरुले बैशाख २७ मा माधव पक्षका नेताबाट विश्वासको मत प्राप्त गर्न कसरत गरिरहेका छन् । माधव पक्षका सांसदले विश्वासको मत नदिए प्रधानमन्त्री ओली अल्पमतमा पर्छन् र बहुमतको सरकारको बाटो खोलिदिन ओलीको बाध्यता रहन्छ ।    

वैशाख २२ गते २४ गतेसम्म एमालेका दोस्रो पुृस्ताका नेताहरु पार्टीलाई एकताबद्ध बनाउन लागे । कहिले सिंहदरबारमा ईश्वर पोखरेलसँग योगेश भट्टराई र गणेश पहाडीबीच भेटवार्ता भयो । कहिले शीलतनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र योगेश भट्टराईबीच छलफल भयो । कहिले  विष्णु पौडेल र योगेश भट्टराईबीच भेट भयो। कुनैबेला पौडेलसँग सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच लामो छलफल भयो । वैशाख २३ गते राति बालुवाटारमा प्रधानमन्त्री ओलीसँग घनश्याम भुसाल र योगेश भट्टराईको लामो छलफल तर सबै छलफल निरर्थक भएका कारण एमालेका दोस्रो पुस्ताका नेताहरुलाई यतिबेला पार्टी एकता गर्न नसक्दा ज्वरो नै आइरहेको छ । 

माधव नेपाल पक्षले राख्दै आएको मागप्रति अहिलेसम्म प्रधानमन्त्री ओली कठोर छन् । पार्टी एकतामा जति ढिलो हुँदै जान्छ पछि मिल्न झन गाह्रो हुँदै जान्छ । दोस्रो तहका नेताहरुले बालुवाटारमा कुराकानी जारी राखे पनि ओलीले ढिला भइसक्यो भन्ने जवाफ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस