भारतमा फेरि ४ लाखभन्दा बढीमा संक्रमण, थप ४१ सय ९४ को मृत्यु

एजेन्सी

शनिबार, २५ बैशाख २०७८, ०९ : ११
भारतमा फेरि ४ लाखभन्दा बढीमा संक्रमण, थप ४१ सय ९४ को मृत्यु

नयाँ दिल्ली । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा शनिबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७९ लाख १७ हजार ८५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ३१ हजार २६१ छ ।

यस्तै त्यहाँ एकैदिन ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३८ हजार २६५ पुगेको छ ।