माधव नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने तयारी

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १४ : २४
माधव नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने तयारी

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएसँगै वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरुले सामुहिक राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले पहिले विश्वासको मत हाल्न लगाएर त्यसपछि कारवाही गर्न सक्ने गन्ध आएका कारण माधव नेपाल समूहका सांसदहरुले सामुहिक राजीनामा गर्ने तयारी थालेका हुन् । 

माधव नेपाल समूहका नेता घनश्याम भुसालका अनुसार राजीनामाको विकल्पमाथि छलफल सुरु भएको बताए । उनका अनुसार भोट हाल्न लगाएर कारबाही गर्ने चर्चा भइरहेको हुनाले वैशाख २७ गतेअगावै राजीनामा गर्ने विषयमा छलफल भइरहेको छ । 

पार्टीभित्रको अन्तरकलह यथावत राखेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएका छन् । ‘हामीले राजीनामा दिनु राम्रो हो भन्ने मत हामीकहाँ आएको छ । पहिले भोट हाल्न लगाएर त्यसपछि हाम्रो राजनीतिक हत्या गर्न खोजेजस्तो देखियो’ भुसालले भने ।   

प्रतिक्रिया दिनुहोस