चितवन विशेष

प्रचण्ड र गिरिजाको सकारात्मक सोचले आजको परिवर्तन सम्भव : प्रदेश मन्त्री दुलाल

मंगलबार, ०६ चैत्र २०७४, १६ : १५
प्रचण्ड र गिरिजाको सकारात्मक सोचले आजको परिवर्तन सम्भव : प्रदेश मन्त्री दुलाल

चितवन । प्रदेश नम्बर तीनका सामाजिक विकासमन्त्री युवराज दुलालले हिजोको दिनमा पुष्पकमल दाहाल प्रचण्ड र स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सकारात्मक सोचले गर्दा नै आजको राजनीतिक परिवर्तन सम्भव भएको बताउनु भएको छ ।

चितवनको भरतपुरमा आज मंगलबार आयोजित समाज रुपान्तरणका लागि सकारात्मक सोच विषयक प्रवचन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश मन्त्री दुलालले यस्तो बताउनु भएको हो । भरतपुर महानगरपालिकासँगको सहकार्यमा के आई नेपाल, चितवन सक्रिय महिला प्रतिष्ठान र महिला सशक्तिकरण तथा परिवर्तनशील संस्था नेपालले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।
उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रदेशमन्त्री दुलालले अरुको अस्तित्वलाई स्वीकार गरेर काम गर्ने हो भने त्यहाँ सकारात्मक सोचाई आउने बताउनु भयो । ‘प्रचण्ड र स्वर्गीय गिरिजाबाबुको सकारात्मक सोचले आजको परिवर्तन सम्भव भएको हो’ उहाँले भन्नुभयो, ‘नयाँ संविधानको प्राप्ति र कार्यान्वयन सकारात्मक सोचकै उपज हो ।’

समाजबाट मानव बेचविखन, लैंगिक हिंसा, दुव्र्यसन लगायतका सामाजिक अपराध न्यूनीकरण गर्न सकारात्मक सोचले सहयोग पु¥याउने उहाँको भनाइ थियो । उहाँले सकारात्मक सोचका साथ कर्म गर्न सके शक्ति आर्जन हुने विचार व्यक्त गर्नुभयो । नेपालको इतिहासमा पहिलोपटक सबैभन्दा शक्तिशाली र स्थिर सरकार बनेको दाबी गर्दै उहाँले पाँच वर्ष यो सरकारलाई साथ दिएर सामाजिक अपराध न्यूनीकरण गर्नु पर्ने धारणा राख्नुभयो ।महिला सशक्तिकरण तथा परिवर्तनशील संस्था नेपालकी अध्यक्ष संगिता भट्टराईको अध्यक्षतामा सम्पन्न उद्घाटन समरोहमा प्रदेश सभा सदस्यहरु विजय सुवेदी, घनश्याम दाहाल, रिना गुरुङ, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका स्रोतव्यक्ति सुदन ज्ञवालीले उत्प्रेरणात्मक प्रवचन दिँदै हिंसा होइन, शान्तिको बाटोमा हिँड्नु पर्ने बताउनु भयो । उहाँले राम्रो कामको सुरुवातको लागि कुनै समय वा कुनै उमेर ढिलो नहुने बताउँदै काममा कहिल्यै सम्झौता गर्न नहुने सुझाव दिनुभयो । भावी लक्ष्यमा पुग्न वर्तमानलाई बलियो बनाउनु पर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस