सभामुख अल्पमतको सरकारको लाचार छाया :अष्टलक्ष्मी शाक्य

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, १२ : ३७
सभामुख अल्पमतको सरकारको लाचार छाया :अष्टलक्ष्मी शाक्य

 हेटौंडा । नेकपा प्रचण्ड–माधव समूह ले बागमती प्रदेश सभाको बैठक अकस्मात स्थगित गरेको भन्दै आपत्ती जनाएको छ । उसले प्रदेशसभाका सभामुख अल्पमतको सरकारको लाचार छाया बनेको टिप्पणीसमेत गरेको छ ।

आज तय भएको बागमती प्रदेश सभाको बैठक स्थगित गरेपछि नेतृ अष्टलक्ष्मी शाक्यले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘२०७७ साल माघ १९ गते बोलाइएको प्रदेशसभाको बैठक मिति २०७७ माघ १८ गते राति ९ स् १५ बजेको विद्युतीय सूचनामार्फत् अकस्मात र विनाकारण फागुन ५ गते बस्ने गरी स्थगित गरिएको सूचनाप्रति हाम्रो दलको घोर आपत्ती रहेको छ । 

यसबाट संसदीय मूल्य, मान्यता, संवैधानिक व्यवस्था र प्रदेशसभाको नियमावली समेतको घोर उल्लंघन गर्दै प्रदेश सभाका माननीय सभामुख अल्पमतको सरकारको लाचार छाया बन्न पुगेको स्पष्ट देखिन्छ ।’

अविश्वासको प्रस्ताव पारित हुने डर र आशंकाले सभामुखलाई प्रयोग गरिएको उनले बताइन् । नेतृ शाक्यले तत्काल प्रदेशसभाको बैठक बोलाउन माग गरेकी छन् ।
आजका लागि तय भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो । पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यहरुले ९ माघमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सो समूहले अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतासमेत चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस