ठूला पदकालाई तलब, सदस्यलाई बेवास्ता

मंगलबार, ०६ चैत्र २०७४, १२ : ३३
ठूला पदकालाई तलब, सदस्यलाई बेवास्ता

-चन्द्र घलान
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाका वडा सदस्यहरुले आफुहरुलाई प्रदेश सरकारले हेला गरेको गुनासो गरेका छन् । गुनासोकै बिच जिल्ला समन्वय समिति मकवानपुरको बैठक समेत प्रभावित भएको छ । आफूहरुलाई सेवासुविधाबाट वञ्चित गरिएको भन्दै उनीहरुले कामअनुसार सेवासुविधा माग गरेका छन् । सेवा सुविधा नपाएमा आफुहरु विरोधमा उत्रने तयारीमा समेत रहेको उनीहरुले बताएका छन् ।

स्थानीय तहका प्रमुख–अध्यक्ष तथा उपप्रमुख–उपाध्यक्ष र वडा अध्यक्षलाई सुविधा दिइएको तर, सबभन्दा धेरै काममा खटिने सदस्यलाई उपेक्षा गरिएको उनीहरुको गुनासो छ । वडाका काममा निरन्तर खटिदै आए पनि प्रदेश सरकारले आफूहरुलाई पाखा लगाएपछि गुनासो गर्नु परेको उनीहरुको तर्क छ ।

निर्वाचत भएर स्थानीय तहको काममा खटिएको लामो समय बितिसक्दा पनि केही सुविधा नपाएको भन्दै वडा सदस्यहरु असन्तुष्ट बनेका हुन् । कामअनुसार पारिश्रमिक व्यवस्था मिलाउन उनीहरुले माग गरेका छन् । प्रदेश सरकारले स्थानीय तहका वडा सदस्य र कार्यपालिका सदस्यबाहेकलाई सुविधा दिने प्रस्ताव ल्याएकोमा उनीहरुले विरोध गरे । उनीहरुले पनि सबै सरहसुविधा माग गरेका हुन् ।

एकै प्रणालीबाट विजयी भएका जनप्रतिनिधिलाई केही दिनअघि प्रदेश सरकारले विभेद गरी सेवासुविधा तोकेको भन्दै समन्वय समितिका सदस्यहरुले चित्त दुखाएका छन् । उनीहरुले आफ्नो चित्त दुखाइ समिति प्रमुख रघुनाथ खुलाल र उपप्रमुख भगवती पुडासैनीलाई सुनाएपछि बैठक बस्ने अवस्था नआएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस