प्रदेश १ मा लगानी भित्रिने मुख्यमन्त्री राईको विश्वास

सोमबार, ०५ चैत्र २०७४, १६ : १५
प्रदेश १ मा लगानी भित्रिने मुख्यमन्त्री राईको विश्वास

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा स्थिर सरकार निर्माण भएकाले विदेशी लगानी भित्रिने विश्वास व्यक्त गर्नुभएको छ ।

लगानी बोर्ड र प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कार्यालयले आज यहाँ गरेको छलफल कार्यक्रममा उहाँले प्रदेश नं १ मा विदेशी तथा स्वदेशी लगानी भित्र्याउन सहज हुने गरी प्रदेश सरकारले ऐन कानून ल्याउन लागेको जानकारी पनि दिनुभयो ।

मुख्य मन्त्री राईले प्रदेश नं १ मा स्मार्ट सिटी, केवलकार तथा मोनो रेललगायतका पूर्वाधार बनाउन प्रदेश सरकारले सम्भाव्यता अध्ययन शुरु गरिसकेको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकार लगानीमैत्री वातावरण बनाई यस क्षेत्रको आर्थिक समृद्धि हासिल गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो ।

लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले सरकारले लगानीकर्तालाई सहज हुने गरी योजना बनाउन सुझाव दिनुभएको थियो । सो अवसरमा प्रदेश नं १ का मन्त्री, प्रदेश सदस्य, विभिन्न मन्त्रालयका सचिव तथा उद्योगी व्यापारीको सहभागिता रहेको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस