कोरोना कहरमा झन्डै ११ प्रतिशत रेमिट्यान्स वृद्धि

पत्रपत्रिकाबाट

विहीबार, ०१ माघ २०७७, ०७ : ०२
कोरोना कहरमा झन्डै ११ प्रतिशत रेमिट्यान्स वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको गत मंसिरसम्ममा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आव २०७७-७८ को बितेका पाँच महिनाको गत मंसिर मसान्तसम्ममा रेमिट्यान्स भित्रिने क्रम १० दशमलव ९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’को तथ्यांकअनुसार अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले घटेको थियो ।

यसलाई हाल कायम भएको अमेरिकी डलरमा हिसाब गर्दा विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो ।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमै असर पु-याइरहेको समयमा नेपाल भित्रिने रेमिट्यान्स रकममा भने वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा रेमिट्यान्स भित्रिने क्रम बढेको देखिए पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा भने गिरावट आएको छ । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस