प्रदेश ७ मा एक अर्बको बजेट ल्याइँदै

शनिबार, ०३ चैत्र २०७४, ०७ : ३४
प्रदेश ७ मा एक अर्बको बजेट ल्याइँदै

प्रदेश ७ सरकारले चालू आर्थिक वर्षको तीन महिनाका लागि एक अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय वैशाखदेखि लागू हुने गरी चैत मसान्तभित्रै बजेट ल्याउने गृहकार्यमा लागेको छ । संघीय संसद् कोषबाट प्रदेश सरकारलाई प्रदान गरेको रकमअनुसार नै बजेट ल्याइने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकरकृष्ण श्रेष्ठले बताए । उनका अनुसार संघीय संसद् कोषबाट एक अर्ब दुई करोड ५० लाख रुपैयाँ प्राप्त भएको छ । ‘यही आँकडाकै हाराहारीको बजेट ल्याइँदै छ,’ सचिव श्रेष्ठले भने ।

बजेटको तयारीका लागि आर्थिक मामिला मन्त्रालयले अन्य मन्त्रालयसँग चालू आर्थिक वर्षमा सञ्चालन गर्न सकिने योजना र अन्य खर्चको विवरण मागेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस