पपुवा न्युगिनीविरूद्ध नेपालको शानदार जित, दिपेन्द्रको अलराउन्ड प्रदर्शन

विहीबार, ०१ चैत्र २०७४, १७ : ३१
पपुवा न्युगिनीविरूद्ध नेपालको शानदार जित, दिपेन्द्रको अलराउन्ड प्रदर्शन

आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले शानदार जित हात पारेको छ । पपुवा न्यूगिनीलाई ११४ रनमा समेटेको नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । पपुवा न्यूगिनीको चार विकेट लिएका ऐरीले अर्धशतक पारी खेल्दै नेपाललाई जिताए । उनले छक्का हान्दै ५० रन पुरा गरेका हुन् ।  नेपालको जितमा बलिङ र ब्याटिङ दुवैतर्फ दिपेन्द्र सिंह ऐरी नायक रहे ।

नेपालले आज फेरि आफ्ना ओपनर ज्ञानेन्द्र मल्ल (१ रन) र अनिल शाह (९ रन) लाई सस्तैमा गुमायो । कप्तान पारस खड्का पनि २० रनमा पभेलियन फर्के । त्यसपछि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखको ६७ रनको साझेदारीले नेपालले गति लिएको थियो । आरिफ २६ रनमा आउट भएका थिए । ५८ बलमा ५० रनको शानदार अवजित अर्धशतकिय पारी खेल्दै दिपेन्द्रले नेपालको जित सुनिश्चित पारेका थिए ।

यसअघि टस जितेर पहिले बलिङ रोजेको नेपालले पपुवा न्यु गिनीलाई २७ ओभर २ बलमा १ सय १४ रनमै अलआउट पार्न सफल भएको थियो । नेपालका लागि आज सन्दिप लामिछाने पुन: उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले आफ्नो ८ ओभरमा २९ रन दिँदै ४ विकेट लिन सफल भएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले पनि ४ विकेट लिँदै तल्लो ब्याटिङ क्रम ध्वस्त बनाएका थिए ।

नेपालको पेस बलरद्वय सोमपाल कामी र करण केसीले पनि एकएक विकेट लिए । पपुवा न्यु गिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रनको योग्दान दिए भने जेसन किलाले १५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानहरुलाई नेपाली बलरहरुले क्रिजमा लामो समय टिक्न दिएनन् ।

नेपालको विश्वकप सम्भावना समाप्त भए पनि अब नेपालको आशा एक दिवसीय मान्यता प्राप्त गर्नु हो । विश्वकप छनोट प्रतियोगिताका शीर्ष ३ एक दिवसीय मान्यता प्राप्त नभएको राष्ट्रहरुले सो मान्यता प्राप्त गर्ने छन् । सुपर सिक्समा प्रवेश गर्न सफल स्कटल्यान्ड र युएईले तीनमध्ये दुई स्थान ओगटिसकेका छन् । अब नेपाल र हङकङमध्ये अग्रस्थानमा रहने टोलीले एक दिवसीय मान्यता प्राप्त गर्ने छ ।

आजको अर्को खेलमा पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्सले हङकङलाई १ सय ७५ रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सले यस अघि नै विश्व क्रिकेट लिगमार्फत एक दिवसीय मान्यता प्राप्त गरिसकेको छ । त्यसैले नेदरल्यान्ड्सले सो खेल जिते नेपालले एक दिवसीय मान्यता प्राप्त गर्ने छ भने हङकङले आजको खेल जितेको खण्डमा नेपालले सातौं स्थानका लागि हङकङलाई हराउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस