कलंकी ट्रक दुर्घटना :  किचिएको अवस्थामा थप एकको शव फेला (अपडेट)

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०७७, १३ : ०१
कलंकी ट्रक दुर्घटना :  किचिएको अवस्थामा थप एकको शव फेला (अपडेट)

काठमाडौँ । शुक्रबार थानकोटबाट कलंकी आउँदै गरेको मालबाहक ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

शनिबार बिहान दुर्घटनाग्रस्त ट्रक निकाल्ने क्रममा किचिएको अवस्थामा थप एकजनाको शव फेला परेको हो । फेला परेको व्यक्तिको पहिचान खुलेको छैन । 

प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रक ब्रेक फेला हुँदा घरभित्र छिरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार ट्रकले किच्दा ओखलढुंगा घर भएका ३० वर्षीय शंकर दमाई ९परियार० को घटनास्थलमै र रञ्जित कुमार चौधरीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

ट्रक ठोक्किँदै घरभित्र छिर्दा ट्रकमुनि मान्छे परेका थिए । ट्रकको ठक्करबाट घरको वाल भत्किएको कारण अन्य मान्छे पनि पुरिएको हुनसक्ने बताइएको छ । ट्रक निकाल्ने काम भइरहेको महानगरीय ट्राफिक प्रभाग कलंकीका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए । 

यस्तै दुर्घटनामा ३० वर्षीय गणेश शर्मा, २२ वर्षीय साजन खत्री, धादिङ घर भएका ३६ वर्षीय रामचन्द्र सिंखडा, कलंकी घर भएका सुजन मानन्धर, बानेश्वरका २४ वर्षीय विशाल श्रेष्ठ र कास्की घर भएकी सन्ध्या थिङ घाइते भएका छन् । उनीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ब्रेक फेल भएको ट्रकको ठक्करबाट बा.२ ज २०४७ नम्बरको ट्याक्सी, बा.४च २२१ नम्बरको पिकअप भ्यान (डीआई), बा.४ख ३२५२ नम्बरको बस र बा.५१ प ४९५१ नम्बरको मोटरसाइकलमा क्षति पुगेको छ । त्यस्तै, प्रदेश ३–०२००६प १३४१ नम्बरको मोटरसाइकल र बा.४७ प २४५१ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ ब्रेक फेल हुँदा कालिका पेट्रोल पम्पनजिकै ट्रकले मोटरसाइकल र कारहरुलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस