‘नागमणि’ उपलब्ध गराउने भन्दै ठगी

रासस

बुधबार, १९ कार्तिक २०७७, ०९ : ०५
‘नागमणि’ उपलब्ध गराउने भन्दै ठगी

प्रतिकात्मक फोटो

बाँके । बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ ।

घोराही उपमहानगरपालिका–१७ दाङ  बस्ने माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी रु एक करोड ८९ लाख ५० हजार ठगी गरेको अभियोगमा नौमुले गाउँपालिका–४ दैलेख निवासी धनबहादुर रोका, कुमाख गाउँपालिका–५ सल्यान निवासी कृष्ण शाह र शारदा नगरपालिका–९ सल्यान निवासी डिल्लीबहादुर बोहरालाई पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१ बाट उनीहरुलाई  ४० लाख रुपैंया सहित पक्राउ गरिएको हो । पक्राउ पछि आयोजित पत्रकार सम्मेलनमा पछिल्लो तीन दिनयता विभिन्न अभियोगमा पक्राउ परेका १२ अभियुक्त र उनीहरुको साथबाट बरामद गरिएको सामग्रीको विवरण सार्वजनिक गरिएको थियो ।

सम्मेलनमा प्रहरी उपरीक्षक रानाले अवैध ठगीधन्दा, रेड पाण्डाको छाला तथा अवैध लागुपदार्थ कारोवारमा संलग्न व्यक्ति तथा बरामद गरिएका अवैध सामग्रीको विवरण सार्वजनिक गर्दै आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको बताए ।

प्रहरीले आइतबार बाँके र दाङको सिमाना शिवखोलाबाट तीन किलो लागुऔषध अफिमसहित पक्राउ परेका पश्चिमरुकुम सानीभेरी गाउँपालिका–८ निवासी २७ वर्षीय चन्द्रप्रकाश वली, दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित मङ्गलबार कोहलपुरबाट पक्राउ परेका बराहताल गाउँपालिका–५ निवासी गणेश नेपाली, लालबहादुर नेपाली, चामुण्डाबिन्द्रा नगरपालिका–५ दैलेख निवासी दिनेश कार्की र उमेशबहादुर थापालाई पनि सार्वजनिक गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस