कोराना सङ्क्रमण : प्रदेश १ मा  थप तीनको मृत्यु,  सुदूरपश्चिममा छ हजार निको

रासस

मंगलबार, १३ असोज २०७७, २१ : ०१
कोराना सङ्क्रमण : प्रदेश १ मा  थप तीनको मृत्यु,  सुदूरपश्चिममा छ हजार निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोनाबाट तीन जनाको मृत्यु हुनुका साथै १२२ जना  सङ्क्रमति थपिएका छन् । मृत्यु हुनेमा झापा, मोरङ र सुनसरीमा एक÷एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयलले जनाएको छ । हालसम्ममा प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६७ जना पुगेको छ ।

आज थपिएका सङ्क्रमति मध्ये ३९ जना महिला र ८३ जना पुरुष रहेका छन् ।  मोरङमा ८६ जना मध्ये विराटनगरमा ६१, सुनसरीमा १९, झापामा आठ, तेह्रथुममा दुई, भोजपुर, उदयपुर र इलाममा एकएक र तथा  प्रदेश बाहिरका चार जना थपिएका छन् ।  प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६४१ पुगेको , हालसम्म तीन हजार ४१ जना डिस्चार्ज भएको र  एक लाख २२ हजार ७७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।  

सुदूरपश्चिममा १५ को मृत्यु
कोरोना भाइरस सङक्रमणका कारण हालसम्म सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ । यहाँका ६ जिल्लामा गरी हालसम्म सङक्रमणबाट १५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । “ अरु प्रदेशको तुलनामा हाम्रोमा मृत्युदर कम देखिएको छ ।” उहाँले भन्नुभयो“ कोरोनाबाट निको हुने दर पनि यहाँ राम्रो छ ।”

सोमबारसम्म सुदूरपश्चिममा सात हजार ११८ जनामा कोरोना सङक्रमण पुष्टि भएकोमा ६ हजार १०१ जना निको भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोनाबाट सबैभन्दा बढी कैलालीमा सात जनाको मृत्यु भएको छ । बझाङ्ग, अछाम र बाजुरामा दुई÷दुई जनाको र डडेल्धुरा र बैतडीमा एक÷एक जनाको मृत्यु भएको निर्देशनालयका सम्र्पक व्यक्ति जोशीले जानकारी दिनुभयो ।

“बिरामीको प्रभावकारी व्यवस्थापनका कारण पनि यहाँ मृत्युदर कम भएको हो ।” उहाँले भन्नुभयो“प्रयोगशाला बढाएर सङक्रमण परीक्षणको दायरा पनि दिनानुदिन बढुदै छ ।” उहाँले स्वास्थ्य निर्देशनालयले अन्य प्रदेशलाई पनि कोरोना परीक्षणका लागि स्वाब यहाँ बढाउन समेत आग्रह गरेको बताउनुभयो  । “ अहिले हामीसित ६ वटा स्थानमा प्रयोगशाला सञ्चालनमा आएको छ ।” उहाँले भन्नुभयो,“अछाम र कञ्चनपुरमा पनि पिसीआर मेसिन जडानको तयारीमा छ ।”

त्यसैगरी सुदूरपश्चिममा हालसम्म गम्भीर खालका सङ्क्रमितको आइसियु र भेन्टिलेटरमा समेत उपचार भइरहेको छ ।यहाँको कञ्चनपुरस्थित महाकाली अस्पतालमा दुई जना सङक्रमितको आइसियुमा उपचार भइरहेको छ ।  एक जनाको कैलालीमा भेन्टिलेटरमा उपचार भइरहेको निर्देशनालय जनाएको छ । यहाँ एक हजार १ कोरानाका सक्रिय बिरामी रहेका छन् ।
 मृत्यु दर वृद्धि 

सुदूरपश्चिम प्रदेशमा असोज महिना शुरु भएसँगै कोरोना सङ्क्रमितको मृत्यु दर बढ्न थालेको छ । यो महिनामा हालसम्म कैलालीमा दुई  र अछाम,डडेलधुरामा एक÷एक जना  गरी चार जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । 

यस बाहेक कैलालीका सङ्क्रमित थप एक व्यक्तिको केही दिन अघि चितवन अस्पतालमा मृत्यु भएको थियो । ती मृतकको मन्त्रालयको तथ्याङ्कमा समावेश गरिएको छैन । उहाँले भन्नुभयो‘‘पछिल्ला दिनमा कोरोनाको लोकल ट्रान्समिसन दर बढेको छ ।”    प्रदेशमा हालसम्म कैलाली जिल्लाका आठ जना,अछाम, बझाङ र बाजुराका दुई÷दुई र डडेलधुरा र बैतडीका एक÷एक जना समेत गरी  १६जना सङ्क्रमितको मृत्यु भएको छ ।  पछिल्लो २४घण्टामा  कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी जिल्लाका गरी थप ३२जनामा कोरोना  सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा आज सम्म कूल सङ्क्रमित सात हजार १५०जना पुगेको छ ।  । 

 यसै बीच कैलालीको गौरीगंगा नगरपालिकाका कर्मचारीमा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिकाले आजदेखि २० गते सम्मका लागि अत्यावश्यक वाहेकका सेवा बन्द गरेको छ । नगरपालिकाद्वारा जारी सूचनामा कोरोनाको जोखिम बढेकोले अत्यावश्यक वाहेकका सेवा बन्द गर्नु परेको उल्लेख गरिएको छ ।  नगरवासीलाई कोरोना फैलिन नदिन सरकारले जारी गरेको स्वाथ्यका मापदण्ड अपनाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस