नारायणगढ–मुग्लिन सडक खण्डमा एकै दिन पाँच वर्षयताकै धेरै पहिरो

रासस

मंगलबार, ३० भदौ २०७७, २० : ३१
नारायणगढ–मुग्लिन सडक खण्डमा एकै दिन पाँच वर्षयताकै धेरै पहिरो

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा पाँच वर्षयताकै धेरै ठाउँमा पहिरो खसेको छ । सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राति सानाठूला गरी ४८  पहिरो खसेका हुन् । 

डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार २०७२ साल यता यति धेरै पहिरो एकै पटक खसेको थिएन । खसेका पहिरोमध्ये ७० प्रतिशतभन्दा बढी नयाँ ठाउँमा खसेका छन् । सो सडकको जुगेडीदेखि दासढुङ्गासम्म अहिलेसम्म पहिरो नखसेका ठाउँमा पनि यस पटक पहिरो खसेको थियो । 

विगत एक सातादेखि निरन्तर परेको वर्षापछि सोमबार बेलुका परेको अविरल वर्षाले पहिरो खसेको खनालको भनाइ थियो । पानीले गलेको जमिन ठूलो वर्षासँगै लेदोसहितको पहिरो खसेको थियो । सो सडकबाट माथितर्फ  पहाडी गाउँतर्फ जाने साना साना सडक अवैज्ञानिक तरिकाले निर्माण गर्दा पनि पहिरोको जोखिम बढेको खनालले बताउनुभयो । सडक सफा गर्न आज बिहानदेखि ११ वटा जेसिबी र ५ वटा लोडर प्रयोग गरिएको थियो । सफा गरेर दिउँसो २ः४५ बजे सडक एकतर्फी सञ्चालनमा ल्याईएको छ । 

सडक खण्डको चारकिलो, घुमाउने, भालुढुङ्गा, सत्र किलो र पाँचकिलोमा ठूलो पहिरो खसेका थिए । अन्य ठाउँमा साना पहिरो खसेका थिए । घुमाउनेमा पहिले खसेको ठाउँमा थप पहिरो खसेको हो । चार किलोमा नयाँ ठाउँमा ठूलो पहिरो खसेको छ । पाँच किलोमा लेदोले सडक भरिएर घरमा समेत क्षति पुगेको थियो । सडकमै रहेका गाडीको टायरसम्म लेदो भरिएको थियो । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले धेरै ठाउँमा पहिरो खसेको भएपनि सडकका कर्मचारी र प्रहरीको सहयोगमा छोटो समयमा सडक सफा गर्न सकिएको बताउनुभयो । एकाएक पहिरो खसेपछि रातीदेखि नै सडक अवरुद्ध बनेको थियो । सो सडक दुई वर्ष अघि विस्तार सम्पन्न भएको हो । 
यो सडक राजधानी काठमाण्डौं, पोखरा लगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग हो । यहाँ दैनिक १० हजार हाराहारी सवारीसाधन गुड्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस