डेंगुका बिरामीलाई भर्ना लिन मानेनन् चितवनका अस्पतालले

अस्पताल चाहार्दाचाहार्दै बित्यो आधा रात

प्रकाश सिग्देल

सोमबार, ०८ भदौ २०७७, १५ : ३४
डेंगुका बिरामीलाई भर्ना लिन मानेनन् चितवनका अस्पतालले

– प्रकाश सिग्देल
चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा अब बिरामीले उपचारै नपाएर मर्ने अवस्था सिर्जना हुने हो कि भन्ने डर उत्पन्न हुन थालेको छ । पहुँचवालाको सोर्सफोर्सबिना अब बिरामीले चितवनमा उपचार नै नपाउने हुन् कि भन्ने अवस्था देखिन थालेको हो । 

आइतबार गोरखाको एपोलो हस्पिटलले डेंगु भएर थप उपचारका लागि चितवनमा पठाएको एक बिरामीलाई चितवनका ठुला मेडिकल कलेजदेखि सरकारी अस्पतालसम्मले भर्ना लिन नमानेको खुलेको छ । 

प्लेटलेट्सको मात्रा घटेर ३० हजारमा झरेको र ज्वरो समेत आएपछि भेन्टिलेटरमा राख्नु पर्ने भन्दै एपोलो अस्पताल गोरखाका डा. सन्तोष मास्केले बिरामी अंगदकुमार श्रेष्ठलाई हिजो आइतबार पुरानो मेडिकल कलेजमा रिफर गरेका थिए । 

गोरखाबाट एम्बुलेन्समा राति ८ बजे पुरानो मेडिकल कलेजमा आइपुगेका श्रेष्ठलाई अस्पतालले आईसियु खाली छैन भनी भर्ना लिन मानेन । ‘अस्पताल लैजानासाथ बिरामीको रिपोर्ट दिनुहोस् भनी मागे । रिपोर्ट हेरेपछि आईसियु खाली छैन भनेर भर्ना लिन मानेनन्’ बिरामी श्रेष्ठका भान्जा राकेश जोसीले भने । 

गोरखामा रहँदा श्रेष्ठलाई १०३ डिग्रीसम्म ज्वरो आएको र चितवन आइपुग्दा ज्वरो घटेपनि अस्पतालले रिपोर्टमा ज्वरो देखिएपछि त्यही ज्वरोलाई बहाना बनाएर भर्ना लिन नमानेको उनी बताउँछन् । 

त्यहाँबाट सरकारी अस्पतालमा पुगेको जानकारी दिँदै जोशीले भने, ‘सरकारी अस्पतालको ईमरजेन्सीमा जानासाथ त्यहाँ स्टाफले पुरानो रिपोर्ट मागेर भित्र लगे । १० मिनेटपछि रिपोर्ट फिर्ता दिएर यहाँ आईसियुमा आज समस्या छ राख्न सकिँदैन, अन्त लैजानुहोस् भनेर फर्काइयो ।’  

त्यसपछि नारायणी सामुदायिक अस्पतालमा लगेको र त्यहाँ पनि रिपोर्ट हेरेर आईसियु खाली छैन भनेर फर्काइएको जोशी बताउँछन् । त्यसपछि मौलाकालिका अस्पतालमा पुगेको र त्यहाँ पनि बिरामी भर्ना लिन नमानेपछि चितवन मेडिकल कलेज पुगेको जोशी बताउँछन् ।  चितवन मेडिकल कलेजले भर्ना गर्ला भनेर आशा राखेकोमा झन् रिपोर्ट हेर्नासाथ टाढैबाट हामीले ज्वरोको बिरामी लिएको छैन भनी त्यहाँबाट फर्काएपछि आफुहरु निकै ठुलो पीडामा छट्पटिएको जोशी बताउँछन् । 

त्यहाँ पनि भर्ना नलिएपछि गेट बाहिर निस्किएर आधारातमा उद्योग बाणिज्य संघ चितवनका पूर्वअध्यक्ष कल्याण जोशीलाई फोन गरेको र पूर्वअध्यक्ष जोशीले भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई फोन गरेर बिरामीको अवस्था बताएपछि डा. अधिकारीले आईसियु चाहिँदैन, पुष्पाञ्जलीमा नर्मल बेडमा लगेर भर्ना गर्नु भनेपछि राति ११.३० बजे पुष्पाञ्जली अस्पतालको नर्मल बेडमा भर्ना गरिएको जोशी बताउँछन् ।  

बिहानसम्म ज्वरो नर्मल भएको र  प्लेटलेट्स पनि बढेर ५२ हजारमा पुगेकाले मामाको अवस्था सुधारतर्फ अगाडि बढेको उनको भनाई छ । सोमबार बिहानबाट भने क्याबिनमा राखिएको र डा. भोजराजले दुईतीन दिनमा डिस्चार्ज गर्न मिल्ने बताएको छोरी आरजु श्रेष्ठले बताइन् । 

उपचार गर्न सोर्सफोर्स नलगाएको भए, पुष्पाञ्जली अस्पतालले पनि भर्ना नगरेको भए बिरामी छट्पटिएर एम्बुलेन्समा नै मर्न बाध्य हुने अवस्था आउने छोरी आरजुले बताइन् । 

मेडिकल सिटी भनिएको चितवनमा अस्पतालका ढोकाहरु रातभरि चाहार्दा पनि बिरामीले उपचार गर्ने ठाउँ नपाउनु निकै दुखदायी अवस्था भएको र स्वास्थ्य संस्थाले गर्ने यस्ता प्रकारको लापरबाहीमा आगामी दिनमा अरु बिरामी नपरुन् भन्नेमा सबै निकाय सचेत बन्नु पर्ने बिरामीका भान्जा जोशी बताउँछन् । 

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले आइतबार सरकारी अस्पतालको नर्मल आईसीयुमा रहेका १ जना बिरामीमा कोरोना देखिएकाले त्यहाँ निर्मलीकरण नहुँदासम्म नयाँ बिरामी भर्ना नगर्ने भनेकाले सरकारीमा भर्ना लिन नसकिएको बताए  ।

बिरामीलाई कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि आफुलाई राति कल्याण जोशीले फोन गरेर बिरामीको अवस्था बताएपछि आईसियु नचाहिने अवस्था आफुलाई महसुस भएकाले पुष्पाञ्जलीमा नर्मल बेडमा राखेर उपचार भएको र बिरामीको अवस्थामा धेरै राम्रो सुधार भएको डा. अधिकारीको भनाई छ ।  

बिरामी अस्पतालमा आएपछि उपचार गर्दिन भनेर कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मीहरुले पक्कै पनि भन्दैनन् । उनीहरुले बडो जोखिम मोलेर बिरामीलाई उपचार गरिरहेका छन् तर यहाँका अस्पताल सञ्चालकहरुले चिकित्सकसम्म पुग्ने बिरामीको बाटो मुलगेटबाटै छेकिदिएका छन् । 

कोरोना संक्रमित बिरामीको प्रभावकारी उपचार गरिरहेको भनेर बाहिरी रुपमा बडो प्रचार गर्ने यहाँका मेडिकल कलेज र अरु अस्पतालहरुभित्र भने ज्वरोको बिरामी आउनासाथ गेटैबाट फर्काएर आफ्नो असली रुप उदांगो पारिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस