२ नं प्रदेशलाई मधेश प्रदेश नामकरण गर्न पहल गरिने

शुक्रबार, १८ फागुन २०७४, १८ : ३७
२ नं प्रदेशलाई मधेश प्रदेश नामकरण गर्न पहल गरिने

 

काठमाडौँ । संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधन नभएसम्म आफूहरु वाम गठबन्धनको सरकारमा समावेश नहुने बताउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा उहाँहरुले मधेशी जनताको भावनानुरुप संविधानमा संशोधन हुनुपर्नेमा जोड दिँदै सरकारमा जाने कुरा आफूहरुको दोस्रो प्राथमिकता भएको बताउनुभयो । फोरमका महासचिव रामसहाय यादवले ‘अधुरो र अपूरो’संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता नेकपा(एमाले)बाट नआएसम्म सरकारमा नजाने बताउनुभयो । उहाँले २ नं प्रदेशलाई मधेश प्रदेश नामकरण गर्न पहल गरिने पनि बताउनुभयो ।

राजपाका नेता मनिष सुमनले वाम गठबन्धनले फोरमसँग गम्भीर रुपमा वार्ता गरिरहेको भए पनि आफूहरुलाई भने बेवास्ता गरेको गुनासो गर्दै मधेश आन्दोलन शब्द संविधानमा लेख्न कन्जुस्याइँ गरिएको बताउनुभयो ।

एमालेका नेता रवीन्द्र अधिकारीले मुलुक समृद्ध बनाउन फोरम र राजपालाई सरकारमा ल्याइने कसरत भइरहेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले सरकारमा सामेल भई संविधान संशोधनका लागि छलफल गर्न मधेशी नेतालाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले देशलाई पाँच वर्षभित्र आर्थिक रुपमा समृद्ध बनाउनुपर्ने बताउँदै पार्टीभित्र बृहत् एकता आवश्यक भएकाले काँग्रसलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस