मुख्यमन्त्री शाहीद्धारा ज्येष्ठ नागरिकसँग खुशी साटासाट

विहीबार, १७ फागुन २०७४, १६ : २४
मुख्यमन्त्री शाहीद्धारा ज्येष्ठ नागरिकसँग खुशी साटासाट

सुर्खेत । होली पर्वको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका ज्येष्ठ नागरिकसँग खुशी साटासाट गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले सुर्खेत वीरेन्द्रनगर नगरपालिकास्थित प्रशान्ति वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकसँग होली खोलेर खुशी साट्नु भएको हो । जीवनको उत्तरार्धमा पुगेका नागरिकको सुरक्षा तथा सम्मानार्थ आश्रम पुग्नुभएका मुख्यमन्त्री शाहीले त्यहाँ भएका ज्येष्ठ नागरिकलाई फलफूल, कम्बल र नगद वितरण गर्नुभयो । “घरमा केही नभएका र कोही नभएका आमा बुबा राखिएको पवित्र संस्थामा आएर भेट्न पाउँदा खुशी लागेको छ । तपाईहरुको अधिकार तथा भौतिक सुरक्षाका लागि विशेष जोड दिनेछु,” उहाँले भन्नुभयो ।

मुख्यमन्त्री शाहीले ७० वर्ष माथिका पाँच आमा र पाँच बुबालाई प्रतिव्यक्ति रु एक हजार नगद र एक÷एक वटा कम्बल वितरण गर्नुभएको प्रशान्ति वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्री शाही पनि आजबाट आश्रमद्वारा स्थापित अक्षयकोषमा रु पाँच हजार पाँच तिरेर आजीवन सदस्य बन्नुभएको छ ।

२०५४ सालमा स्थापना भएको आश्रममा हाल ५३० आजीवन सदस्य र रु ४५ लाख रकम अक्षयकोषमा जम्मा भएको अक्षयकोष स्थापना समितिका संयोजक भद्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आश्रममा दैलेख, सिन्धुपाल्चोक, कालीकोट, हुम्ला, जुम्ला, सुुर्खेत र अछामका गरी १० जना ज्येष्ठ नागरिक रहेका छन् ।
पाँच कट्ठामा जमिनमा आफ्नै आठ कोठे भवन र ३०० जना अट्ने क्षमताको भवन विकासका लागि प्रदेश सरकारमा माग पत्र पेश गरिएको जनाइएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस