प्रदेश २ मा मन्त्रिमण्डल विस्तार

बुधबार, १६ फागुन २०७४, १९ : ४४
प्रदेश २ मा मन्त्रिमण्डल विस्तार

महेन्द्रनगर । प्रदेश २ को मन्त्रिमण्डल दोस्रो पटक विस्तार भएको छ । राष्ट्रिय जनता पार्टीले दुई मन्त्रीको टुंगो लगाएपछि बुधबार दोस्रो पटक चार मन्त्री र तीन राज्यमन्त्री थपिएको हो । मुख्यमन्त्री लालबाबु राउतले आज १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नव नियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराए भने मुख्यमन्त्री राउतले राज्यमन्त्रीहरूलाई शपथ गराए ।  

राजपाका तर्फबाट वरिष्ठ उपाध्यक्ष नवलकिशोर साहले सामाजिक विकास मन्त्रालय र वरिष्ठ नेता रामनरेश रायले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि नै राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा विकासमन्त्री नियुक्त भइसकेका छन् ।  

त्यसैगरी, संघीय समाजवादी फोरमबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द्र यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्र साहले नियुक्त भएका छन् । यसअघि नै फोरमबाट विजयकुमार यादव आर्थिक ममिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् ।  

फोरमबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह, भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव र सामाजिक विकास राज्यमन्त्री उषा यादवले आ–आफ्नो पदको शपथ लिएका छन् ।  

राज्यमन्त्री भने होली पर्वपछि मात्रै थप्ने राजपाको योजना छ । रासस

प्रतिक्रिया दिनुहोस