प्रदेश ३

मुख्यमन्त्री पौडेलद्वारा धरान–चतरा सडकको निरिक्षण , फर्केपछि मन्त्रिपरिषद बिस्तार र सपथ ग्रहण हुने

बुधबार, १६ फागुन २०७४, ११ : ५०
मुख्यमन्त्री पौडेलद्वारा धरान–चतरा सडकको निरिक्षण , फर्केपछि  मन्त्रिपरिषद बिस्तार र सपथ ग्रहण हुने

मकवानपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज धरान–चतरा सडक आयोजनाको निरिक्षण गरेका गरेका छन् ।
उनले हेटौँडा–धरान–चतरा सडकको हेटौंडा–राईगाउँ खण्डको निरिक्षण गरेका हुन् । आजबाट सुरु हुने बकैया महोत्सवको उद्घाटनको लागि मकवानपुरको पूर्वी क्षेत्रमा पुगेका पौडेलसहितको टोलीले छतिवन हुँदै राईगाउँसम्म पुगेर सडक तथा सो क्षेत्रको निरिक्षण गरेका हुन् । मुख्यमन्त्री पौडेलसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, आयोजनाका प्रतिनिधि लगायतको टोलीले समेत आयोजनाको निरिक्षण गरेका थिए ।

सरकारको उच्च प्राथमिकतामा परेको मकवानपुरको हेटौंडादेखि सुनसरीको धरानसम्म निर्माणाधिन हेटौँडा–धरान चतरा सडकको कामले तिव्रता पाएको छ । हेटौंडादेखि सिन्धुलीमाडि हुँदै कटारी, गाईघाट, धरान चतरासम्मको ३ सय १८ किलोमिटर सडकको कामले तिव्रता पाएको हो । यो सडकको ट्रयाक खोलेर पक्की बनाउने काम भइरहेको छ । तीन वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने उद्देश्यले शुरु गरिएको आयोजना अन्तर्गत ३३ वटा पुलसमेत निर्माण भइसकेका छन् । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रुपमा सरकारले सात वर्षअघि यो सडक निर्माणको काम थालेको हो ।


मुख्यमन्त्री पुर्वी क्षेत्रबाट फर्किएपछि आज साँझ नै मन्त्रीपरिषद बिस्तार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थमाएको मन्त्रीको लिष्ट र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको सुझाव अनुसार आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद विस्तार गर्ने बताइएको छ ।
यस अघि नै  ७ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेका केशव स्थापित नियुक्त भइसकेका छन् । आज हुने मन्त्रीपरिषद बिस्तारमा एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामाले सपथ ग्रहण गर्ने सम्भावना रहेको मुख्यमन्त्री निकट श्रोतले जानकारी दिएको छ । आज साँझ ५ बजेसम्ममा सपथ ग्रहण हुन सक्ने बताइएको छ ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामेछापका कैलाश ढुंगेललाई अर्थ तथा योजना मन्त्री बनाउन निर्देशन दिएको श्रोतले बताएको छ । त्यस्तै लामालाई पनि ओलीले नै सिफारिस गरेको चर्चा छ । माओवादीबाट भने कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्कामध्येबाट मन्त्री बनाउन लागिएको चर्चा चल्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस