स्थायी समिति बैठकमा प्रेस गर्ने प्रस्ताव लेख्दै नेकपा अध्यक्ष प्रचण्ड

स्थायी समिति बैठकमा पेश गर्ने प्रस्ताव तयारीका लागि आजै महासचिवसँग छलफल गरेर प्रस्ताव लेखिने, भोलि सचिवालय बैठकमा पेश गर्ने

सफल खबर संवाददाता

मंगलबार, २३ बैशाख २०७७, ०८ : ४७
स्थायी समिति बैठकमा प्रेस गर्ने प्रस्ताव लेख्दै नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड स्थायी समिति बैठकमा पेश गर्ने प्रस्ताव आज लेख्ने भएका छन् । २५ वैशाखमा काठमाडौंमा स्थायी समिति बैठक बस्दैछ । त्यसका लागि भोलि २४ वैशाखमा सचिवालय बैठक बस्नेछ । प्रधानमन्त्री केपी ओलीले अनायासै पार्टी र पार्टी नेताहरुसँग सल्लाह बिनै राजनीतिक दल विभाजनलाई सजिलो पार्ने गरी अध्यादेश ल्याएपछि नेकपामा चर्काे विवाद भएको थियो ।

अन्ततः नेताहरुले विरोध जनाएपछि र भित्री बाहिरी सबैतिरवाट ओली निक्कै आलोचित भएपछि उनी चार दिनमै अध्यादेश फिर्ता लिने अवस्थामा पुगेका थिए । अध्यादेश प्रकरणपछि समाजवादी पार्टीलाई फुटाउनका लागि प्रधानमन्त्रीले बालुवाटारमा बसेर महोत्तरीबाट सांसद अपहरण गरेर काठमाडौं सम्म ल्याउनका लागि आफु निकट सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसम्म प्रयोग गरेको आरोप लागेपछि नेकपा झन बदनाम हुनपुगेको थियो । 

प्रधानमन्त्री ओलीको कदमले पार्टी र सरकार दुवै आलोचित भएका कारण उनले राजीनामा दिनुपर्ने सम्मको आवाज पार्टी सचिवालय बैठकमै उठ्यो । अन्ततः २० वैशाखको सचिवालय बैठकमा उनले आफुले सरकार र पार्टी सञ्चालनमा कमजोरी गरेको भन्दै आत्मआलोचना गरेर अबका दिनमा कमजोरी नगर्ने, पार्टी कमाण्डमै सरकार सञ्चालन गर्ने र विधि र पद्दतीलाई अंगिकार गरेर जाने प्रतिबद्धता जनाएपछि नेकपाभित्र भूसको आगो झै सल्कदै गएको विवाद केही मथ्थर भएको छ ।

नेकपाका २० जना स्थायी समिति सदस्यले यो प्रकरणपछि यस विषयमा छलफल गर्न स्थायी समिति बैठक माग गर्दै लिखित पत्र नै ओली र प्रचण्डलाई बुझाएका थिए । त्यही कारण बस्न लागेको स्थायी समिति बैठकमा गत शनिवारको सचिवालय बैठकमा भएको सहमतिलाई आधार बनाउदै प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष प्रचण्डले पाएका हुन् । उनलाई प्रस्ताव तयार पार्नका लागि महासचिव विष्णु पौडेलले सघाउनेछन् ।

अध्यक्ष प्रचण्डले प्रस्ताव तयार पार्नु पूर्व शनिवारको सचिवालय बैठकको सहमतिका विषयमा केन्द्रीत रहेर अध्यक्ष तथा प्रधानमन्त्री केपीओली, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल लगायत नेताहरुसँग छलफल गरेका छन् । प्रचण्डले ति नेताहरुसँग एक्लाएक्लै र सामुहिक भेटेर पनि छलफल गरेका हुन् । भोलि बिहानसम्म प्रस्ताव तयार पार्ने उदेश्यले प्रचण्ड र महासचिव पौडेल आज छलफलमा बस्दैछन् ।

‘हामी प्रस्ताव तयार पार्न बसिसकेका छैनौं, आज बस्ने तयारीमा छौं, एक चरण बस्यौं भने सकाईहाल्छौं,’ महासचिव पौडेलले भने । प्रस्तावमा प्रधानमन्त्रीले कमजोरी सच्चाउने विधि के हुने ? अध्यक्षहरुको कार्यविभाजनको परिभाषित जिम्मेवारी के के हुने ? एक ब्यक्ति एक पदका विषयमा के गर्ने जस्ता विषयमा प्रस्तावमा विषय समेटिनेछन् ।

प्रतिक्रिया दिनुहोस