रौतहटमा थप दुई जना कोरोना संक्रमित भेटिए

मंगलबार, १६ बैशाख २०७७, १२ : २६

रौतहट । रौतहट थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहका अनुसार लकडाउनपछि चोर बाटो हुँदै नेपाल प्रवेश गरेका दुवैको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । त्यहाँ नतिजा नेगेटभ देखाइए पनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडौँ पठाउँदा उनीहरुको नतिजा पाजेटिभ देखाएको हो ।

प्रमुख शाहका अनुसार बोनाही नगरपालिका वडा–१ का ३५ वर्षीय पुरुष कोलकाताबाट लकडाउनपछि चोरबाटो हुँदै नेपाल आएका थिए । जनकपुरमा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर जान दिइएको थियो । अहिले काठमाडौँमा गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।

त्यस्तै, वृन्दाबन नगरपालिका वडा नम्बर–९ का २४ वर्षीय पुरुषमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उनी पनि लकडाउनपछि भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका थिए । उनलाई भने चन्द्रपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

यसअघि पनि प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर परीक्षण गर्दा गलत नतिजा देखाएको थियो । सर्लाहीका १४ वर्षीय एक किशोरमा पीसिआर चेकजाँच गर्ने क्रममा मेसिनले गलत रिपोर्ट दिएको थियो । उक्त घटनापछि प्रादेशिक अस्पताल जनकपुरमा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको थियो ।

योभन्दा अगाडि रौतहटमा एक जना संक्रमित फेला परेका थिए । उनी निको भएर घर फर्किसकेका छन् ।