भरतपुर अस्पतालमा डराउनु पर्दैन सुत्केरी गराउन

विहीबार, २७ चैत्र २०७६, १६ : ३०
भरतपुर अस्पतालमा डराउनु पर्दैन सुत्केरी गराउन

चितवन । भरतपुर अस्पतालमा निशुल्क प्रसुती सेवा दिईन्छ । तर शल्यक्रिया गनुपरेमा त्यही सेवाका लागि नीजिमा चर्को शुल्क असुल्ने गरिन्छ । 

कोरोना भाईरस (कोभिड १९) को संक्रमणको त्रास देखाएर नीजिमा बिरामी भर्ने गरिएको छ । भरतपुर अस्पतालका स्त्री तथा प्रसुती रोग बिभागका प्रमुख डा. सुनिलमणी पोख्रेल भरतपुर अस्पतालको प्रसुती बिभाग छुट्टै भवनमा भएकाले पूर्ण रुपमा सुरक्षित छ भन्नुहुन्छ । सुतकेरी गराउन आउनेको संख्या केही घटेको भन्दै उहाँले यहाँको जस्तो सुबिधा अन्यत्र सम्भवै नरहेको बताउनुभयो ।

भरतपुर अस्पतालको प्रसुती रोग बिभागमा १४ जना बिशेषज्ञ चिकित्सक रहेको भन्दै उहाँले एमडी अध्ययन गर्दै गरेका ६ चिकित्सक समेत कार्यरत छन् भन्नुभयो । अस्पतालमा २५ वर्ष अघि देखि प्रसुतीका बिरामी हेरको अनुभब गरेका ८० जना नर्स एबं स्वास्थ्यकर्मीको अनुभवी समुह रहेको पोख्रेलको भनाई छ । 

उहाँले भन्नुभयो “नेपालमै हाम्रो सेवा उत्कृष्ठ छ । अन्यत्र दाँज्नै मिल्दैन ।” कोरोना रोगको डर मान्नुपर्ने अबस्था नरहेको उहाँले दोहोर्याउनु भयो । छुट्टै प्र्रबेशद्धार सहितको भवन र सेवा दिईने भएकाले अस्पताल भित्र आउन डराउनु नपर्ने उहाँको भनाई छ । 

सबै अस्पतालमा फिबर क्लिनीक र आईसोलेसन समेत रहेकाले ज्वरोका बिरामी सबैतिर जाने गरेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गतवर्ष फागुनमा ८ सय ९० जनाले प्रसुती गराएको भरतपुर अस्पतालमा यस वर्षको फागुनमा १ हजार ११ जनाले प्रसुती गराए । यो महीनाको २६ गते सम्म ६ सय ४१ जनालाई भरतपुर अस्पतलाले प्रसुती गराएको छ । जसमध्ये १ सय ८९ जनाले शल्यक्रिया गराएका छन्् । गत साल चैत महीनामा ८ सय ३५ जनाले प्रसुती गराएकोमा २ सय ४७ जनाको शल्यक्रिया गरिएको पौडेलले जानकारी दिनुभयो । 

सोझा साझालाई अफवाह फैलाएर नीजि तर्फ पठाउने गरेको चिकित्सकहरुको भनाई छ । अस्पतालमा गत वर्ष भरीमा १३ हजार ५ सय ४५ जनाको सुत्केरी गराईएको थियो । यस वर्ष फागुन मसान्त सम्म यो संख्या ९ हजार ७ सय २८ छ । 

अस्पतलामा जन्मीसकेपछि बच्चाको उपचार गर्ने बिज्ञ समूह एबं सघन उपचार कक्ष हुनाले सुत्केरी गराउन थप आकर्षण हुने गरेको पाईन्छ । अन्य अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीले पनि आफ्नो श्रीमती सहित आफन्तको प्रसुती गराउन भरतपुर अस्पताल ल्याउने गरेका छन् ।
अस्पतालका बालरोग बिशेषज्ञ डा. युवानिधि बस्यौलाका अनुसार यहाँ १२ शैयाको सघन उपचार कक्ष,  ६ जना क्षमताको कंगारु मदर केयर,  १५ शैयाको नबजात शिशु वार्ड र १० जना क्षमताको पोषण एकाई छ । 

बालरोग बिभागमा १० जना बिशेषज्ञ चिकित्सक र ४ जना मेडिकल अधिकृत छन । सघन उपचार कक्षमा दैनिक  रु १ हजार लिईन्छ भने अन्य सबै सेवा निशुल्क छ । सघन उपचार कक्षमा नीजिमा एकै दिनको रु १० हजार खर्च हुने गर्दछ । 

प्रसुती गृहपछि नेपालमै भरतपुर अस्पतालमा धेरै प्रसुती गराउने गरेको तथ्याङ्क छ । अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी अस्पतालमा उपचार गराउन आउने जो कसैलाई खतरा नरहेको भन्दै छुट्टै भवनमा प्रसुती बिभाग भएकाले कुनै समस्या नभएको बताउनुहुन्छ । उहाँले आँफुले पनि अफवाह फैलाएको भन्ने सुनेको भन्दै शुक्रबार बिभागीय प्रमुखको बैठक वोलाएको बताउनुभयो । 
अस्पताल भित्रबाट बाहीर बिरामी पठाएको र पठाउने आशय समेत प्रकट गर्नेहरुमाथि अनुसन्धान गरेर कारवाही गर्ने बताउनु भयो । 

भरतपुर अस्पताल गतवर्ष केन्द्रीय अस्पताल बनेको हो । जहाँ चितवन सहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष अस्पतालमा ३ लाख भन्दा बढीले सेवा लिएको जनाईएको छ । अस्पतालमा ६ सय शैया छन् । 
 

प्रतिक्रिया दिनुहोस