‘कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न सरकारको चार रणनीति

पत्रपत्रिकाबाट

मंगलबार, ११ चैत्र २०७६, ०७ : ४४
‘कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न सरकारको चार रणनीति

काठमाडौं  । कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदायस्तरमा फैलन नदिने सरकारले चारवटा रणनीति अपनाएको छ । कोरोना भाइरसको रोकथाम, जनचेतना, होम क्वारेन्टाइनमा निगरानी र उपचार व्यवस्थापन गरी चार रणनीति अघि सारेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार एकजना नेपाली युवतीमा संक्रमण भेटिएकोले अन्यको अवस्था पत्ता लगाउन एक्टिभ सर्भिलेन्स (सक्रिय निगरानी) बढाइएको छ । संक्रमण भेटिएको खण्डमा उपचार व्यवस्थापन गर्नका लागि तदारुकताका साथ लागिने भएको छ ।

रणनीति नं १

चारवटा रणनीतिमध्ये पहिलो कार्यान्वयनमा ल्याइसकिएको छ । डा. देवकोटाका अनुसार, सीमा नाका र विमानस्थलमा प्रतिबन्ध लगाइएको छ । ‘प्रवेशमा रोकको नीति कार्यान्वयन भइसकेको छ । लामो दूरीका सवारी साधन चल्न निषेध तथा नाकामा यात्रुको आवागमन निषेध गरिएको छ, डा. देवकोटाले भने । आगामी चैत २१ गतेसम्मका लागि मुलुकभित्र लामो दूरीको सवारी साधन चल्नमा रोक लगाइएको छ ।

त्यस्तै जमघटलाई पनि निषेध गरिएको छ । संक्रमण नफैलायोस् भन्ने उद्देश्यले जमघटमा निषेध गरिएको हो । उनले भने, ‘अबको संक्रमणको फैलावटको दर हेर्दा हामी हरेक व्यक्ति संक्रमित हुन सक्छौं । हामी बाहेक अरु व्यक्ति पनि संक्रमित हुन सक्छन् । एक आपसबाट संक्रमणबाट जोगिन अलि बढी जिम्मेवार बन्न जरुरी छ । हाम्रो सावधानीले समाज र परिवारका सदस्यलाई संक्रमण हुनबाट जोगाउँछ’, उनले भने ।

कोरोना संक्रमणको अवस्थाबारे अब पत्रकार सम्मेलन नगरिने भएको छ । ‘अबदेखि जमघट कम गर्नेतर्फ कदम चाल्ने छौं । सरकारी मिडिया, फेसबुक लाइभ वा प्रेस विज्ञप्तिमार्फत सूचना प्रवाह गर्ने छौं’, डा. देवकोटाले भने ।अस्पताल आउने बिरामीका लागि पनि कडाइ गरिएको छ ।

डा.देवकोटाका अनुसार, पछि गर्न सकिने केसका लागि आज नआइदिनुहोस् भन्न खोजेको हो । अन्य रोगको बिरामीलाई कोरोना भाइरस संक्रमण हुने बढी जोखिम हुन्छ । पेइंग क्लिनिक स्थगन गर्ने, एक दुई साता फलोअपमा नबोलाउने, नियमित जाँच र पछि गर्दा हुने शल्यक्रिया .स्थगित गर्ने निर्णय भएको छ ।

हरेक ५० शैया भन्दा ठूला अस्पतालले फिभर क्लिनिक सञ्चालनमा ल्याउनु पर्ने भएको छ । बहिरंग विभाग (ओपीडी) मा जाँदा अन्य व्यक्तिलाई पनि सार्ने खतरा हुने भएकाले छुट्टै हेर्ने बनाइएको हो ।

रणनीति नं २

जनचेतनासम्बन्धी यो रणनीतिमा भ्रमपूर्ण सूचना प्रवाह फैलाउनेलाई कारवाही गर्ने र तथ्यपूर्ण सूचनाका लागि एकद्धार प्रणालीबाट प्रवाह गर्नेस्वास्थ्य मन्त्रालयको तयारी छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार संक्रमण भएकी नेपाली विद्यार्थीको जानकारी पनि पे्रस वक्तव्य मार्फत दिने की वा एउटा मिडियाबाट लाइभ गर्ने भन्ने छलफल गरिएको थियो । ‘यो पटकलाई सबै सञ्चारकर्मीको बीचबाट गरौं भन्ने भयो । अब अर्कै खालको व्यवस्थापन गरौं भन्ने छ’, मन्त्री ढकालले भने ।

रणनीति नं ३

यो रणनीतिमा विदेशबाट आएका संभावित संक्रमणको लक्षण भएका यात्रुलाई होम क्वारेन्टाइन राखेर निगरानी गरिने भएको छ । पछिल्लो समय सर्भिलेन्सको दायरालाई बढाइएको छ । विदेशबाट फर्किएका व्यक्तिलाई आइसोलेसनमा राखि नमुना परीक्षणको व्यवस्था गरिएको छ ।

विदेशबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिलाई सम्भावित लक्षण देखिएको अवस्थामा नमुना परीक्षण गर्ने कार्यलाई फराकिलो बनाइएको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘अबदेखि ६० वर्षभन्दा माथिका व्यक्ति, स्वासप्रश्वासको गम्भीर खालको समस्या भएका व्यक्ति र दीर्घरोगीलाई यस खालका लक्षण देखिए नमुना परीक्षण गर्ने दायरा बढाएका छौं ।’

रणनीति नं ४

यो रणनीतिमा बिरामीको उपचार व्यवस्थापन छ । यसका लागि काठमाडौं उपत्यकामा एक हजार शैयासम्मको आइसोलेसन शैया वृद्धि गर्ने रहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । मुलुक भरका अस्पतालमा सघन उपचार कक्ष (आइसीयु)का लागि २ सय ३५ शैया आइसीयु शैया थप गर्ने कार्य भइसकेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा थप १० शैयाको लागि निर्माण कार्य सुरु भइसकेको छ । त्यस्तै संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट, पीपीई) खरिदका लागि टेन्डर प्रक्रिया खुला गरिसकिएको छ । ‘जति सामान पाइन्छ, त्यसलाई ल्याएर कार्यान्वयन गर्ने छौं, डा. देवकोटाले भने । अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस