रगंशाला निर्माणार्थ हुने महायज्ञबाट ५० करोड भन्दा बढी उठ्छ : धुर्मुस

सफल खबर संवाददाता

मंगलबार, १४ माघ २०७६, १७ : १३
रगंशाला निर्माणार्थ हुने महायज्ञबाट ५० करोड भन्दा बढी उठ्छ : धुर्मुस

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले गौतमबुद्ध अन्तर्रािष्ट्रय क्रिकेट रंगशाला निर्माणार्थ हुने धनधान्याचल महायज्ञबाट ५० करोड भन्दा बढी संकलन हुनेमा आफु ढुक्क रहेको बताएका छन् ।

चितवनको रामपुरमा निर्माणाधिन अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन हुन लागेको महायज्ञमा सबैले मनदेखी नै सहयोग गर्ने भएकोले ५० करोड बढी संकलन हुने उनले बताए । रंगशाला निर्माण चितवनको मात्र नभई सिङ्गो देशको नै अभियान भएकोले सबैले सहयोग गर्ने उनको भनाई छ । ‘यो सिङ्गो देशको प्रतिष्ठाको अभियान हो र यसमा ७७ वटा जिल्लाको ७७ वटै कक्ष हुने भएको कारण राष्ट्रव्यापी रुपमा नै महायज्ञमा सहभागीता हुने र ५० करोड बढी उठ्ने विश्वास छ, उनले भने ।

उनले चितवनबासी सबैले यो अभियानमा साथ र सहयोग गर्ने भएकोले पनि लक्षित रकम उठान समस्या नहुने बताए । ‘चितवनबासीले एकै चोटि साथ र सहयोग गर्दै हुनुहुन्छ उनले भने, ‘त्यसैले ५० करोड भन्दा बढी उठ्छ तर कम हुँदैन ।’
जिल्ला भित्र गठन भएका सहयोग समितीहरुको आँकडाले पनि लक्षित रकम संकलन हुनेमा दुई मत नरहेको उनको भनाई छ । महायज्ञ अघी मैदानको आकार तयार भईसक्ने भएकोले यसले थप टेवा पुग्ने उनको विश्वास छ । यस्तै उनले महायज्ञमा सहभागी भई सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

निर्माणाधिन अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी २६ गतेसम्म धनधान्याचल महायज्ञ हुँदैछ । महायज्ञमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहनेछन् । महायज्ञ सफल बनाउनका लागि सांसद बिजय सुबेदीको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । यस्तै अन्य बिभिन्न उपसमितिहरु गठन गरेर तयारी तिब्र पारीएको मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस